
काठमाडौं— रातो मत्स्येन्द्रनाथ (मच्छिन्द्रनाथ) को रथ ८ जेठमा लगनखेलबाट जावलाखेल तानिने भएको छ ।
बिहीबार ज्योतिषीहरूले हेरेको शुभ साइतअनुसार ८ जेठमा लगनखेलबाट पश्चिमतर्फ तानिने भएको हो । लगनखेलबाट जावलाखेल रथ तान्ने शुभसाइत दिउँसो ३ बजेर ४९ मिनेटमा रहेको ज्योतिषीहरूले बताएका छन् ।
वर्षा र सहकालका देवताका रूपमा पुजिने ऐतिहासिक रातो मत्स्येन्द्रनाथको रथलाई ललितपुरका विभिन्न स्थानमा घुमाइन्छ । विद्या, धन सम्पत्ति, शान्ति समृद्धि लगायत सबैकुरा मागे पनि मेरो रूप रङ्ग राम्रो होस् भनेर माग्न नहुने संस्कृतिविद् बताउँछन् ।
रातो मत्स्येन्द्रनाथको जात्रा नेपालमा मनाइने जात्रा मध्येकै सबैभन्दा लामो जात्रा हो ।
मत्स्येन्द्रनाथको रथ यात्रा वैशाख शुक्ल प्रतिपदामा शुरु भएर आषाढ शुक्ल चतुर्थी (दुईमहिना) सम्म चल्छ । मत्स्येन्द्रनाथको रथ यात्राको अन्तिम दिन भोटो देखाउने जात्रा हुन्छ । पुल्चोकमा रथारोहण गरी शुरु भएको मत्स्येन्द्रनाथको रथयात्रा गाःबहाल, मङ्गलबजार, सुन्धारा, लगनखेल, इटी टोल हुँदै जावलाखेलमा पुर्याएर भोटो देखाइन्छ ।
यससँगै मत्स्येन्द्रनाथलाई सानो खटमा राखी बुङ्गमतीमा लगिएपछि जात्रा समापन हुन्छ । पौराणिक कथन अनुसार १२ वर्षसम्म अनिकाल लागेपछि भक्तपुरका तत्कालीन राजा नरेन्द्र देवले यो जात्राको सुरुवात गराइएको किंवदन्ती छ ।