
काठमाडौं— गत १० चैतमा नेपाल प्रहरीको ३०औँ महानिरीक्षक (आईजीपी) पदमा बसन्तबहादुर कुँवर बढुवा भए ।
धेरैलाई लाग्यो ‘पहुँच र पावर’ कै भरले प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा भएको केही दिनमै आईजीपीमा फट्को मारे । आम नागरिकको बुझाइ स्वभाविक थियो ।
स्वभाविक यो मानेमा कि प्रहरीको सरुवा, बढुवा र अनुसन्धानमा राजनीतिक हस्तक्षेप मात्र होइन बिचौलियासमेत हाबी हुने गरेको तितो यथावत् थियो । तर, प्रहरीको कमान्ड सम्हालेको केही दिनमै उनले आफ्नो असली ‘हरकत’ देखाउन थाले ।
त्यो हरकत थियो– नक्कली भुटानी शरणार्थी प्रकरणको फाइल । उनले उक्त प्रकरणको फाइल मात्र खोलेनन् फायर नै खोले । नक्कली शरणार्थी ठगी प्रकरणबारे आईजीपी कुँवर अनभिज्ञ थिएनन् । उनी काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रमुख हुँदा नै ठगी प्रकरणबारे पीडितको उजुरी परेको थियो । उजुरीपछि उक्त कार्यालयले एक जनालाई पक्राउ गरेको थियो ।
उनले बयानमा तत्कालीन गृहमन्त्री बालकृष्ण खाण र गृहसचिव टेकनारायण पाण्डेको नाम लिए । थप अनुसन्धान नगर्न कुँवरमाथि गृह र तत्कालीन प्रहरी प्रमुखबाट पनि दबाब आयो । अनुसन्धान प्रभावित हुने भयले होला सायद उनी पछि हटे । सायद उनी उचित समयको पर्खाइमा थिए ।
उचित समय सरकारले नै गत १० चैतमा पूरा गरिदियो । बस् ! के चाहियो र, उनले काठमाडौं उपत्यका प्रहरी कार्यालयलाई निर्देशन दिए ‘नक्कली भुटानी शरणार्थी प्रकरणमा उजुरीअनुसार कारबाही गर्नु ।’ र, अहिले तत्कालीन गृहमन्त्री खाण, गृहसचिव पाण्डेसहित एमाले नेता एवम् पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राईसमेत पक्राउ परिसके ।
यो प्रकरणमा अहिलेसम्म १२ जना पक्राउ परेका छन् । बिचौलिया केशव दुलाल, सानु भण्डारी, सागर थुलुङ राई, टङ्क गुरुङ, सन्देश शर्मा पोखरेल र सन्दीप रायमाझी प्रहरीको हिरासतमा छन् । अहिलेसम्म उनीहरूविरुद्ध २० वटा जाहेरी परेको छ । १ सय ५४ जना पीडित प्रहरीको सम्पर्कमा छन् ।
प्रहरीले केशव शर्मा, सानु भण्डारी, केशवप्रसाद दुलाल र टङ्ककुमार गुरुङलाई गत १३ चैत २०७९ मा सार्वजनिक गरेको थियो । ८१ जना पीडितहरूबाट १३ करोड ६३ लाख रुपैयाँ ठगी गरेको उजुरीको आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूले दिएको प्रमाणका आधारमा प्रहरीले अन्यलाई पक्राउ गरिएको छ ।
१६ चैत २०७९ मा थप ५० जनाबाट ३ करोड २४ लाख रुपैयाँ ठगी गरेको भन्दै प्रहरीले सागर राईलाई पक्राउ गरेको थियो । अपराध अनुसन्धान कार्यालयका अनुसार नक्कली भुटानी शरणार्थी प्रकरणमा १८ जेठ २०७९ मा रामकुमार रेग्मी र गजेन्द्र बुढाथोकीले उजुरी दिएका थिए ।
अदालतबाट पक्राउ पुर्जी जारी भइसकेका बादल पुत्र प्रतीक र पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी फरार छन् । उनीहरूलाई पक्राउ गर्न प्रहरी टोली खटिएको छ । यो प्रकरणमा नेपाली कांग्रेस सभापतिसमेत रहेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा र खाण पत्नी मञ्जुको समेत नाम मुछिएको छ ।
१० चैत (शुक्रबार) प्रहरी महानिरीक्षकमा बढुवा भएपनि कुँवरले १२ चैत (आइतबार) मात्रै दर्ज्यानी चिह्न लगाएका थिए । दर्ज्यानी चिह्न लगाइसकेपछिको सम्बोधनमा उनले भनेका थिए, ‘प्रहरी यही समाजको अङ्ग हो । यसमा पनि केही समस्या छन् । प्रहरीमा सुधार आवश्यक छ । हामीलाई दिन गनेर बस्ने छुट छैन।’
उनको यो भनाइ भाषणमा मात्रै सीमित भएन कार्यान्वयनसमेत भइरहेको छ । सरुवा बढुवा र प्रहरी अनुसन्धानमा राजनीति र बिचौलिया हाबी हुन नदिने अड्डी लिएका बसेका छन् उनी ।
बिहीबार बिहान न्यूजगृहसँग संक्षिप्त कुरागर्दै आईजीपी कुँवरले खुट्टा नकमाउने बताए । उनको संकेत थियो– नक्कली भुटानी शरणार्थी प्रकरण तर्फ । ‘राम्रो भइरहेको छ । अझ राम्रो गर्ने मेरो मनसाय हो,’ आईजीपी कुँवरले भने, ‘प्रमाणले भेटेका जो कोहीलाई पनि कानुनी दायरामा ल्याइन्छ ।’
आम नागरिकमा अमनचयन ल्याउन आफू दिनरात खटिनेसमेत आईजीपी कुँवरले बताए । गर्बिलो इतिहास बोकेको प्रहरी सङ्गठनमाथि मडारिएको कालो बादल हटाउन सक्षम रहेको उनले बताए । ‘अझै धेरै कुरा गर्न बाँकी छ’, आईजीपी कुँवरले न्यूजगृहसँग भने ।
१५ चैत २०२६ अर्घाखाँचीमा जन्मिएका आईजीपी कुँवर ५ चैत २०५१ मा प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदबाट सेवा प्रवेश गरेका हुन् । सहपाठीले आईजीपी कुँवरलाई साहसिक अधिकृतको दर्जा दिन्छन्। नक्कली भुटानी शरणार्थी प्रकरणबाट त उनी साहसिक मात्र रहेनन् आँटिला, व्यावसायिक, निष्ठावान् समेत कहलिए ।
कुँवरले धूमिल प्रहरी संगठनको छवि सुधार्ने संकेत गरेका छन् । सत्य सेवा सुरक्षणम्को टोपी शिरमा लगाएका आईजीपी कुँवर निस्वार्थ भावले संगठनको नेतृत्व गरिरहेको भान आम नागरिकमा परिसकेको छ । उनले आफ्नो बाँकी कार्यकालमा यो साखः जोगाउँदै प्रहरी सङ्गठनमा लागेको दाग पक्कै मेटाउने छन् ।
हुन त यसअघि नेपाल प्रहरीले २९ वटा प्रमुख पाइसक्यो । तर, गर्व गर्न लायक छवि सीमित प्रहरी प्रमुखले मात्र बनाए । आईजीपी कुँवरले पनि परिमित प्रहरी प्रमुखको बाटो पहिल्याएका छन् । यति छिट्टै उनलाई ‘सफल आईजीपी’ भन्न मिल्दैन । तर, बिहानीको किरणले दिनको संकेत गर्छ भने झैँ भुटानी शरणार्थी प्रकरणमा उनले देखाएको साहसले आईजीपी कुँवर पक्कै सफल हुनेछन्, आफ्नो गरिमा र ओज कायमै राख्नेछन्, भावी आईजीपी र प्रहरी सङ्गठनमा प्रवेश गर्न चाहनेका लागि ‘आइडल’ बन्नेछन् ।
प्रहरी सेवामा प्रवेश गरेको १२ वर्षमा कुँवर नायव उपरीक्षक (डीएसपी) मा बढुवा भएका हुन् । ८ भदौ २०६३ मा डीएसपी भएका उनले १० फागुन २०७१ प्रहरी उपरीक्षक (एसपी) दर्जाको फुली लगाए । ६ फागुन २०७५ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा भएका कुँवर १७ असार २०७९ मा प्रहरी नायब महानिरीक्षक (डीआईजी) र ६ चैत २०७९ मा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा भएका थिए । एआईजी भएको पाँच दिनमै उनी संगठन प्रमुख भए ।
तस्बिरः नेपाल प्रहरी ।