
काठमाडौं— अन्तर्राष्ट्रिय उडानका तीन जहाज भारतको वनारस र लखनऊ डाइभर्ट भएका छन् ।
एअर इन्डियाको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसकेपछि एअर इन्डिया बनारस र फ्लाई दुबई र इन्डिगो एअरको जहाज लखनाउ डाइभर्ट भएको विमानस्थल कार्यालयले जनाएको छ ।
विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार डाइभर्ट भएका तीन जहाजमध्ये एअर इन्डिया र फ्लाई दुबईको जहाज पुनःअवतरण भइसकेका छन् भने इन्डिगो एअर राति १०:४५ बजे काठमाडौं अवतरण गर्ने उडान तालिका रहेको छ ।
डाइभर्ट हुनुअघि एअर इन्डियाको जहाजले बुधबार दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनै लाग्दा ओभरसुट गरेको थियो । काठमाडौं विमानस्थलमा मिस एप्रोच भएपछि उक्त जहाज करिब एक घण्टा आकाशमा फन्को लगाएर ‘होल्ड’ भएको थियो । जहाजले पुनःएप्रोच लिन नसकेपछि बनारस डाइभर्ट भएको विमानस्थलले जनाएको छ ।
विमानस्थलका एक एअर ट्राफिक कन्ट्रोलर (एटिसी) का अनुसार ‘टेल वीन’ (पछाडिबाट लागेको हावा) का कारणले जहाज अवतरण समस्या आएको हो । अन्तर्राष्ट्रिय उडानका ठूला जहाज धावनमार्गको दक्षिणतर्फबाट मात्रै अवतरण हुन्छ ।
दक्षिणतर्फ तीव्र गतिको हावा चलेकाले जहाज अवतरण हुन नसकेका हुन् ।