
मोरङ— कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलहरुको सहमतिमा प्रदेशको नाम ‘कोशी’ राखिएको दाबी गरेका छन् ।
नगेन्द्रप्रसाद–आशालता रिजाल प्रतिष्ठान विराटनगरद्वारा बुधबार आयोजित पुरस्कार तथा सम्मान समर्पण छैटौँ संस्करणको–२०८० को उद्घाटन गर्दै उनले दुई तिहाइ बहुमतद्वारा राखिएको नामको विरोधमा केही पहिचानवादीले हिंसागत गतिविधि एवम् तोडफोड गरेको आरोप लगाए ।
सरकारको गठन भएको ५२ दिन एवम् प्रदेश सभाको १३औँ बैठकबाट पाँच वर्षसम्म राख्न नसकिएको प्रदेशको नाम टुङ्ग्याएको बताउँदै मुख्यमन्त्री कार्कीले कोशी नाम ठीक छ भने नगरका बुद्धिजीवी, प्रौढ एवम् नगरवासीले यसको समर्थनमा शान्तिपूर्णरुपमा सडकमा आउन आग्रहसमेत गरे ।
उनले बहुभाषिक, बहुजातीय, विविध भौगोलिकता र एक सय २८ जातजाति बसोबास गर्ने यो मुलुकको हो भन्दै विविधताबीच एकता नै नेपालको गहना भएको प्रष्ट पारे ।
मुख्यमन्त्री कार्कीले भने,‘नेपालमा सबै जातजातिले एक अर्काको भाषा, धर्म र संस्कृत सम्मान गर्ने हामीहरुको एतिहासिक परिचय रहेको छ ।’ ‘कोशी’ नामकरणविरुद्ध पहिचानवादीहरूले आन्दोलन गर्दै आएका छन् ।