मिटरब्याजीलाई कारबाही गर्ने अध्यादेश स्वीकृत
1683726652.jpg)
काठमाडौं— प्रतिनिधि सभाबाट ‘मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८०’ सर्वसम्मतरुपमा स्वीकृत भएको छ ।
बुधबारको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङका तर्फबाट अर्थमन्त्री डा.प्रकाशशरण महतले सो अध्यादेशलाई स्वीकृत गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए ।
बैठकमा सभामुख देवराज घिमिरेले सो अध्यादेशलाई अस्वीकार गरियोस् भन्ने सूचना प्राप्त नभएको व्यहोरा सदस्यलाई जानकारी गराएका थिए ।
२४ वैशाखको बैठकमा कानुनमन्त्री गुरुङले सो अध्यादेश प्रतिनिधि सभामा पेस गरेका थिए । उक्त अध्यादेश २० वैशाखमा राष्ट्रपति रामचन्द्र पौडेलबाट जारी भएको थियो ।
सरकारले मिटरब्याज पीडितको समस्या सम्बोधन गर्ने गरी अध्यादेशमार्फत कानुन संशोधन गर्ने निर्णय गरेको थियो ।
प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८० १९:३५