News Griha :: न्यूजगृह
टिकटकमा बढ्दै अपराध : धेरै युवती पीडित
दि वासिङ्टन पोस्ट

काठमाडौं– झापाकी शर्मिला (नामपरिवर्तन) लामो समयदेखि भिडिओ सेयरिङ एप टिकटक प्रयोग गर्दै आएकी छन् ।

उनका २ लाख ५० हजार बढी फलोअर्स छन् । २० लाख बढी लाइक पाएकी छन् । नयाँनयाँ ठाउँमा गएर भिडिओ बनाउने तथा भाइरल गीतमा टिकटक भिडिओ बनाउने भएकाले उनको ‘फलोअर्स’ राम्रै छन् ।

भर्खर २२ वर्ष पुगेकी शर्मिलाले डियुल सिस्टम अन गरेकी छन् भने उनका भिडिओ डाउनलोड गर्ने अप्सन पनि अन छ । त्यसै कारण उनी समस्यामा परिन् ।

उनको भिडिओ डाउनलोड गरेर फेक आईडी बनाएर तथानाम लेखेर अपलोड गरिएको छ । उनको लिपसिङमा अर्कैले अपशब्दहरू बोलेर भिडिओ अपलोड गर्ने, भिडिओमा ‘मेरो विवाह भएको छैन यदि कसैलाई विवाह गर्न मन छ भने मलाई फोन गर्नुस्’, ‘म भर्जिन छु, भर्जिन...छ भने तपाईंको फोन नम्बर कमेन्ट गर्नुस् म कल गर्छु ,’ ‘मलाई.... मन लाग्यो फोन नम्बर कमेन्ट गनुस म कल गर्छु’ जस्ता शब्दहरू राखेर भिडिओ राखेका रहेछन् ।

त्यसै कारण शर्मिलालाई आफन्तहरूको गालीसमेत खानु परेको थियो । वास्तविक टिकटक अकाउन्टमा पनि नराम्रा, नराम्रा कमेन्ट आएर हैरान पार्न थालेपछि उनले प्रहरीको साइबर ब्युरोमा उजुरी दिइन् ।

यो प्रतिनिधि घटना मात्रै भएको र अहिले सामाजिक सञ्जालमा चर्चित व्यक्तिहरूको भिडिओ, फोटोको प्रयोग गरेर अपराध बढेको प्रहरीले बताएको छ । ‘अहिले टिकटकमा अर्कै व्यक्तिको भिडियोमा अपशब्दहरू बोलेर अर्को भिडियो बनाउने समस्याहरू देखिएका छन्,’साइबर ब्युरोमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) राजकुमार खड्गीले न्यूजगृहसँग भने ।  

उनका अनुसार टिकटकमा ९० प्रतिशत व्यक्तिहरूले असामाजिक कृयाकलापहरू गरेको देखिएको छ । प्रहरीका अनुसार कुनै व्यक्तिले सञ्चार माध्यममा बोलेको भिडिओ काटेर टिकटकमा अनर्थ लाग्ने गीत र अडिओ राखेर पोष्ट गर्ने देखिएको छ । २ जनाको भिडिओ जोडेर समाजमा अपाच्य शब्दको प्रयोग गर्ने गरेको देखिएको इन्स्पेक्टर खड्गीले बताए ।

टिकटकमार्फत महिलाको चरित्रहत्या गरेको आरोपमा ब्युरोले २० वैशाखमा चितवनबाट विजय लामा भनिने डम्बरबहादुर तामाङलाई पक्राउ गरेको थियो । टिकटकमा पीडितको फोटो र भिडिओलाई काटकुट पारी अश्लीलतासहित प्रसारण गर्ने र महिलाको चरित्रमा आँच पुर्‍याउने काम गरेको आरोप उनीमाथि छ ।

यतिमात्र होइन टिकटकबाटै जुवा खेलाउने र सट्टेबाजीको काम पनि हुने गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ४ माघमा टिकटक लाइभमा जुवा खेलाएको आरोपमा ललितपुर महानगरपालिका– २८ हरिसिद्धिका ३५ वर्षीय हरिश्चन्द्र मल्ललाई पक्राउ गरेको थियो ।

टिकटक लाइभमा जुवा खेलाएर डिजिटल वलेटबाट कारोबार गरेको आरोपमा उनी पक्राउ परेका थिए । मल्लले जुवा खेलाएर १५ दिनमा ८ लाख ५३ हजार रुपैयाँको कारोबार गरेको प्रहरी अनुसन्धानबाट खुलेको थियो ।

प्रहरीका अनुसार पछिल्लो समय टिकटकमा लाइभ बसेर विभिन्न अपराध गर्ने गरेको देखिएको छ । साइबर ब्युरोको तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको ६ महिनामा मात्रै २ सय ६२ वटा उजुरी परेका छन् ।

आर्थिक वर्ष २०७८/०७९ मा २ सय ३३ वटा उजुरी परेका थिए । आर्थिक वर्ष २०७७/०७८ मा जम्मा ७० वटा उजुरी परेका थिए । यो तथ्याङ्कले पनि टिकटकमा अपराध बढीरहेको देखाउँछ । ब्युरोको तथ्याङ्क अनुसार यो आर्थिक वर्षको ६ महिनामा फेसबुकमा अपराध गरेको २ हजार ९२७ वटा उजुरी परेको थियो ।

त्यस्तै भाइबर अपराध ४, इमो अपराध १०, युट्युब अपराध २५, ह्वाट्सएप एप अपराध १२२, ट्वीटर अपराध १३, इन्स्टाग्राम अपराध २८०, वेबसाइट ह्याक २२, इमेल ह्याक/अपराध २३, ईसेवाबाट अपराध ७२ र बैंकहरूबाट ठगी ९३ वटा उजुरी परेको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख २७, २०८०  ०७:०२
Weather Update