News Griha :: न्यूजगृह
बेगनास ताल किनारमा शव फेला

पोखरा— पोखराको बेगनास तालमा सोमबार बिहान एक पुरुषको शव फेला परेको छ ।

उदयपुरका ३१ वर्षीय अनुप भण्डारी बेगनास ताल किनारमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता श्रवणकुमार विकले जानकारी दिए । मृतक भण्डारीले बोकेको परिचयपत्रका आधारमा सनाखत गरिएको कास्की प्रहरीले जनाएको छ ।

मृतक भण्डारीलाई बेगनास ताल किनारमा घोप्टो परेको अवस्थामा स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

इलाका प्रहरी कार्यालय सिसुवाबाट खटिएको टोलीले मुचुल्का तयार गरी शवपरीक्षणका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा ल्याएको कस्की प्रहरीले जारी गरेको सूचनामा उल्लेख छ ।

परिचयपत्रका आधारमा मृतक भण्डारी नायब सुब्बा पदमा कार्यरत परराष्ट्र मन्त्रालयका कर्मचारी रहेको प्रहरीले जनाएको छ । उक्त घटनाका बारेमा अनुसन्धान भइरहेको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए ।

‘तालमा डुबेर आत्महत्या हो कि विष सेवन गरेर आत्महत्या हो वा कसैले हत्या गरेको हो भन्नेबारेमा हामी अनुसन्धान गर्दैछौँ’, प्रवक्ता विकले भने ।

प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८०  २१:४७
Weather Update