News Griha :: न्यूजगृह
चिनियाँ राजदूत र गृहमन्त्री श्रेष्ठबीच के भयो कुराकानी ? 

काठमाडौं— उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई चिनियाँ राजदूत चेन सङले शिष्टाचार भेट गरेका छन् ।

सोमबार गृह मन्त्रालयमा भएको भेटका क्रममा मन्त्री श्रेष्ठले चीन–नेपालबीच ऐतिहासिक सम्बन्ध रहेको र चीनसँग नेपालको कुनै विवाद नरहेको बताए । नेपाली भूमि चीनविरुद्ध कुनै पनि हालतमा प्रयोग हुन नदिने र नेपाल एक चीन नीतिप्रति सधैं कटिबद्ध रहेको श्रेष्ठको भनाइ छ ।

चीनको तिब्बत स्वायत्त क्षेत्रले नेपाल प्रहरीलाई सहयोग गरेको २१ वटा ड्रोनहरूको श्रेष्ठले धन्यवाद दिँदै छिटै हस्तान्तरण गर्ने व्यवस्था मिलाइने बताए । पारस्परिक कानुनी सहायता सम्झौता कार्यान्वयनका लागि समेत सम्बन्धित निकायसँग आग्रह गर्ने उनले उल्लेख गरे ।

दुई देशको सीमा जोडिएका जिल्लाहरूमा समकक्षी बैठक निरन्तर हुनुपर्ने र सीमामा कार्यरत दुई देशका पदाधिकारीहरूको सम्पर्क र समन्वय सघन बनाउनुपर्ने मन्त्री श्रेष्ठको भनाइ छ ।

विगतमा सीमाक्षेत्रमा रहेका जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूले सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई पास प्रदान गर्ने गरेको र उक्त व्यवस्थाले सीमा क्षेत्रका वासिन्दाहरूको दैनिक जीवन सहज बनाएको भन्दै मन्त्री श्रेष्ठले उक्त व्यवस्था पुनः सुचारु गर्न पहल गरिदिन आग्रह गरे ।

तातोपानी, रसुवा तथा हिल्सा नाका पुनः खुलेर पूर्णरूपमा सञ्चालनमा आएकोमा खुसी व्यक्त गर्दै मन्त्री श्रेष्ठले थप नाकाहरू पनि चाँडै सञ्चालनमा ल्याउन पहल गरिदिन राजदूत सङलाई आग्रह गरे । बझाङको साइपल, दार्चुलाको तिन्कर, गोर्खाको रुइला र मुगुमा व्यापार नाका खोल्नेतर्फ पहल गर्न पनि उनको आग्रह छ ।

जवाफमा चिनियाँ राजदूत सङले आफूले त्यसको पहल गर्ने विश्‍वास दिलाए । सीमा क्षेत्रका पदाधिकारीहरूको सम्पर्क सघन बनाउने र समकक्षी बैठक गरिरहनुपर्ने मन्त्री श्रेष्ठको रायमा आफू पनि सहमत रहेको उनको भनाइ छ ।

सन् २०१९ मा चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमण र त्यसपछि भएका उच्चस्तरीय भ्रमणहरूले नेपाल–चीन सम्बन्ध थप उचाइमा पुगेको उनको भनाइ छ ।

नेपाली भूमिलाई चीन विरोधी गतिविधिमा प्रयोग हुन नदिन र नेपालमा रहेका चिनियाँ लगानी र सम्पत्तिको सुरक्षामा नेपालको गृह प्रशासनले खेलेको भूमिकाको प्रशंसा गर्दै राजदूत सङले यसको निरन्तरताको अपेक्षा गरेको उल्लेख गरे ।

चिनियाँ राष्ट्रपति चिनफिङको नेपाल भ्रमणका क्रममा भएको पारस्परिक कानुनी सहायता सम्झौता कार्यान्वयनमा आवश्यक समन्वय गरिदिन सङले आग्रह गरे ।

प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८०  २०:३८
Weather Update