
कपिलवस्तु— जग्गा बिक्री गरेको नक्कली कागजात बनाइ ठगी गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय चन्द्रौटाले शिवराज नगरपालिका– ११ नम्बर वडाको थुनिया बस्ने रामनिवास कुर्मी चौधरी र रामप्रताप यादवलाई पक्राउ गरेको हो ।
चौधरी कानुन तथा लेखापढी व्यवसायी समिति चन्द्रौटाका अध्यक्ष हुन् । मालपोत कार्यालय चन्द्रौटामा साबिक वीरपुर गाविस– ९ मा रहेको मुकेश यादवको नाममा रहेको जग्गाको नक्कली राजी नामा बनाएपछि उनीहरू पक्राउ परेको प्रहरीको भनाइ छ ।
जग्गाधनी यादवलाई जानकारी नै नदिएर कृष्णनगर बस्ने रेखा लोहारसँग उनीहरूले चार लाख रुपैयाँमा जग्गा कारोबार गरेका थिए ।
मालपोत कार्यालय जग्गाको मोठ भिडाएको नाटक गरी नक्कली राजीनामा तयार गरेका थिए । राजीनामा देखाउँदै जग्गा पास भएको र दुई दिनमा जग्गाधनीपुर्जा उपलब्ध गराउने बताएका थिए ।
चार दिन बित्दासम्म पुर्जा नपाएपछि लोहारले प्रहरीमा उजुरी दिएका थिए । उजुरीको आधारमा वडा प्रहरी कार्यालय चन्द्रौटाले उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायब उपरीक्षक मिन घलेले बताए ।