
महोत्तरी— महोत्तरीको गौशालामा कृषि उपज बिक्री केन्द्र स्थापना हुने भएको छ ।
किसानले व्यहोरिरहेका समस्यालाई मध्यनजर गरेर गौशाला–५ बजार छेउमै मडहा नदीको किनारमा केन्द्र निर्माण गरिन लागिएको गौशालाकाका नगरप्रमुख डा.दीपेन्द्र महतोले जानकारी दिए ।
‘सरकारबाट केन्द्र निर्माणका लागि रकम प्राप्त भएको छ, हामीले ठाउँ छनोट गरिसकेका छौँ, निर्माणको ठेक्का बन्दोबस्त पनि लागिसकेको छ’, उनले भने,‘अबका १८ महिनाभित्र अत्यधुनिक कृषि उपज सेन्टर निर्माण सम्पन्न भइसक्नेछ ।’
केन्द्र निर्माणका लागि काठमाडौंस्थित सान्दोर्जे निर्माण सेवाले कार्यादेश पाएको छ ।
केन्द्र बनिसकेपछि आफ्नो उत्पादन बेच्न र भण्डारण गर्न सहज हुने किसान बताउँछन् । ‘न समयमा बीउ, मल पाइन्छ, न सिँचाइको भरपर्दो उपाय, तैपनि जेनतेन बाली उब्जाउँदैछौँ’, गौशाला–४ का ६० वर्षीय चन्द्रमान तामाङले भने, ‘यसरी उब्जाइएको बस्तुले पनि राम्रो बजार कहिल्यै पाएका थिएनौँ, बल्ल कृषि उपज बिक्री केन्द्र बन्ने भएछ ।’
जिल्लामै फफूल (आँप, लिची) र तरकारी उत्पादनको ‘पकेट क्षेत्र’ मानिएको गौशाला नगर क्षेत्रमा उपज भण्डारण र संकलन तथा बिक्री केन्द्र नहुँदा किसानलाई समस्या हुँदै रहेको थियो ।