
काठमाडौं— भैरहवा एअरपोर्टको रन-वे मै ग्राउण्डेड भएको श्री एअरलाइन्सको जहाजलाई हटाइएको छ ।
करिब १ घण्टासम्म रोकिएको भैरहवा विमानस्थल रन-वे बाट बिग्रेको जहाज हटाइएसँगै उडान सुचारु भएको गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलले जनाएको छ ।
‘विमानको लेफ्ट साइडको नोजलमा समस्या देखिएको थियो । विमानलाई अहिले रन वे बाट अन्यत्र सारिएको छ । र, अब अन्य उडानमा समस्या आउँदैन’, विमानस्थलका प्रवक्ता सुवास झाले भने, ‘ग्राउण्डेड भएको श्री एअरलाइन्सको विमान भने अझै पूर्ण रुपमा बनिसकेको छैन ।’
भैरहवाबाट काठमाडौंका लागि उडेको विमानमा समस्या देखिएपछि श्री एअरलाइन्सका पाइलटले पुनः भैरहवा मै ल्यान्ड गरेका थिए । ‘पाइलटले बेलैमा भैरहवा फर्काएर ठुलो खतरा टारेका छन् । नत्र काठमाडौं पुगिसक्दा ल्यान्डिङ मै समस्या पर्न सक्थ्यो,’ झाले भने, ‘अहिले एअरलाइन्स कम्पनीले यात्रुहरूलाई तालिका परिवर्तन गरेर गन्तव्यमापु¥याउने तयारी गरिरहेको छ ।’
श्री एअरलाइन्सका अनुसार विमानको ल्यान्डिङ गियरमा समस्या देखिएको छ । श्री एअरका भैरहवा प्रतिनिधि मिलन थापाका अनुसार हाल जहाजको मर्मत कार्य भइरहेको छ । ‘प्रारम्भिक रुपमा जहाजको ल्यान्डिङ गियरमा समस्या देखिएको इन्जिनियरहरूले बताएका छन्,’ थापाले भने,‘जहाजलाई रन वे बाट अलिक यता सारिएको छ । केही समयमै विमान ठिक भइसक्छ ।’
करिब १ घण्टा भैरहवाको गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थलको रन वे मा विमान बिग्रिएर रोकिँदा उडान प्रभावित भएको थियो । काठमाडौंबाट भैरहवाको लागि गएको यति एअरलाइन्सको विमान त्यहाँ ल्यान्ड गर्न नसकेपछि काठमाडौं नै फर्किएको थियो ।