
मुगु— कर्णाली प्रदेश सरकारले मुगु कार्मारोङ गाउँपालिका–२ मुगुको च्यार्खु लेकमा हिउँपहिरामा परेकाहरूको खोज उद्धार सोमबारदेखि गर्दैछ ।
आइतबार ढिला भएकाले प्रदेश सरकारले सोमबार बिहान हेलिकप्टरबाट नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीसहितको खोज उद्धार टोली घटनास्थलमा पुर्याउने तयारी गरेको छ ।
कर्णाली प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले घटनाका बारेमा तत्काल जानकारी हुन नसकेकाले खोज उद्धार कार्यमा ढिलाइ भएको बताए ।
‘हामीले मुगु प्रशासनबाट त्यहाँको यथार्थ विवरण मागी सुरक्षा समितिको बैठक बसेर हेलिकप्टर तयारी अवस्थामा राखेका छौँ’,उनले भने, ‘सोमबार सुर्खेतदेखि नेपाली सेनाको हेलिकप्टरमार्फत औजारसहितको उद्धार टोली सुर्खेतबाट मुगु गमगढी र त्यसपछि घटनास्थलतर्फ जानेछ ।’
जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर थापाले घटना २२ वैशाख दिउँसो २ बजे भए पनि मृतकसँग गएका प्रत्यक्षदर्शीहरूले शनिबार साँझ मात्र जानकारी दिएकाले उद्धार कार्यका लागि सूचना दिन ढिलाइ भएको बताए ।
प्रत्यक्षदर्शीहरूको भनाइ उद्धृ्त गर्दै प्रजिअ थापाले उक्त घटनामा पातारासी गाउँपालिका–२ जुम्ला तल्फीगाउँका ३६ वर्षीय पुन्न सार्कीको हिउँमा पुरिएर मृत्यु भएको र ४० वर्षीय तारासिंह सार्की र ३६ वर्षीय वीरबहादुर बोहोरा बेपत्ता भएको जनाए ।
उनका अनुसार ४ जेठमा यार्सागुम्बा सङ्कलनका लागि त्यहाँको पालिकाले खुला गर्ने भनिए पनि पातारासीबाट १४ र मुगु छायाँनाथ रारा नगरपालिकाबाट एक गरी १५ जनाको टोली अवैध बाटो भएर त्यहाँ पुगेको थियो ।
शव हिउँमै रहेको बताइएको छ ।