News Griha :: न्यूजगृह
कम्बोडिया पठाइदिन्छु भन्दै ३१ लाख ठगी गर्ने पक्राउ

काठमाडौं— नेपाल प्रहरीले कम्बोडिया पठाइदिन्छु भनी ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले वैदेशिक रोजगारीका लागि कम्बोडिया पठाइदिन्छु भन्दै रकम ठगी गर्ने गोरखा नगरपालिका–१० घर भई काठमाडौंको नयाँ बसपार्क बस्ने ३१ वर्षीय सुदीप लामा तामाङलाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो ।

कार्यालयका सूचना अधिकृत एवम् प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले वैदेशिक रोजगारीका लागि प्रतिष्ठित कम्पनीमा कम्प्युटर अपरेटरमा दुई लाख तलबमा काम लगाइदिन्छु भनी ३१ लाख रुपैयाँ ठगी गरेको आरोपमा तामाङलाई पक्राउ गरिएको जानकारी दिए ।

तीन जना पीडितले वैदेशिक रोजगार विभागमा दिएको उजुरीका आधारमा तामाङलाई पक्राउ गरिएको प्रहरी उपरीक्षक रेग्मीले बताए । पक्राउ परेका तामाङलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको सो कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख २४, २०८०  २२:०६
Weather Update