
काठमाडौं— अमेरिका लगायतका विभिन्न मुलुकमा गएर ठूलो रकम कमाउने लोभमा फस्दा १०१ जना ठगिएको फेला परेको छ । पीडितहरू साढे ३ करोड बढी रकम ठगिएपछि प्रहरीकामा आएका छन् ।
भक्तपुरको चाँगुनारायण नगरपालिका–६ नगरकोट बस्ने ६८ वर्षीय सीताराम बास्तोला लगातयको समूहको मिलेमतोमा अमेरिका, जर्मनी, बेलायत तथा जापान पठाउने भन्दै यसरी ठगी गरेका भेटिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
ती ठगी गर्ने समूहले मासिक चार लाख बढी तलब हुने भनी विश्वास दिलाई प्रतिव्यक्ति ३० लाख खर्च लाग्ने र सम्बन्धित देशहरूमा पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिने लोभ देखाएर ठगी गरेका भेटिएको प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले बताए ।
गिरोहले पीडितहरूबाट पटक–पटक गरी जम्मा तीन करोड ५६ लाख आठ हजार लिएर फरार भएकामा वैदेशिक रोजगार विभागको अनुरोधमा यसरी फरार भएकामध्य भक्तपुरका सीताराम बास्तोलालाई आइतबार पक्राउ गरिएको रेग्मीले बताए ।
उनलाई थप कारबाहीका लागि वैदेशिक रोजगार विभागमा बुझाइएको छ ।