News Griha :: न्यूजगृह
भुटानी शरणार्थी प्रकरण : प्रधानमन्त्री दाहाल भन्छन्– दोषी कोही पनि बच्न सक्दैनन् 

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई ढाकछोप नहुने बताएका छन् ।

आइतबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री दाहालले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषी कोही पनि बच्न नसक्ने बताए ।

उनले सो प्रकरणमा निर्दोष कोही नपर्ने पनि स्पष्ट पारे । उनले संसद बैठकमा सो प्रकरणको सम्बन्धमा कुरा उठ्नुले सरकारको मनोबल बढेको बताए ।

उनले भने, ‘मैले भनेको छु दोषी कोही बच्न सक्दैन । निर्दोष कोही पनि पर्दैन । सरकारको त्यही जोड छ । जसरी विषय उठेको छ, त्यसले अझ सरकारको मनोबल बढाउने काम नै गरेको छ भन्ने मैले ठानेको छु । कसैले त्यहाँ दबाब दिएर केही हुनेवाला छैन ।’

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषीउपर कडाइका साथ कारबाही गर्न प्रधानमन्त्रीलाई आग्रह गरेको बताए ।

उनले छानबिनमा सरकारले हस्तक्षेप नगर्न र बयान नफेराउन पनि सचेत गराए । उनले भने, ‘मैले कडाइका साथ कारबाही गर्नुस् जो दोषी छन् भनेकाे छु । उपयुक्त ढंगले छानबिन गरेर कडाइका साथ कारबाही गरोस् सरकारले ।’ 

 

प्रकाशित मिति: आइतबार, वैशाख २४, २०८०  १८:५२
Weather Update