News Griha :: न्यूजगृह
ज्येष्ठ र अपाङ्गता भएका पत्रकाहरूको लागि जीवन निर्वाह भत्ताको व्यवस्था हुँदैछ : प्रधानमन्त्री
फाइल तस्बिर ।

काठमाडौं— प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षाको सुनिश्चितताका लागि पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन् । 

सिंहदरवारमा आयोजित राष्ट्रिय पत्रकारिकता पुरस्कार वितरण समारोहमा आइतबार प्रधानमन्त्री प्रचण्डले भने, ‘वर्तमान सरकार प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षाको सुनिश्चितताका लागि पूर्ण रूपमा प्रतिबद्ध छ । सरकारले सञ्चार क्षेत्रको व्यवसायिक र संस्थागत विकासका लागि पनि मिडियालाई राष्ट्रिय सेवामूलक उद्योगसरह नै मान्यता प्रदान गरी संरक्षण र समर्थन गर्ने नीति लिएको छ ।’

प्रधानमन्त्री प्रचण्डले सरकारले प्रवाह गर्ने सबै सरकारी विज्ञापन, विज्ञापन बोर्डमार्फत न्यायिक ढंगले वितरण गर्ने व्यवस्था मिलाउन लागेको बताए । 

उनले ज्येष्ठ पत्रकार र अपाङ्गता भएका पत्रकारहरूको लागि जीवन निर्वाह भत्ताको व्यवस्था मिलाउन लागेको बताए । ‘ज्येष्ठ पत्रकार र अपाङ्गता भएका पत्रकारहरूको लागि जीवन निर्वाह भत्ताको व्यवस्था मिलाइँदैछ,’ उनले भने । 

उनले सञ्चार उद्योगको संस्थागत विकासलाई ध्यानमा राखि एकीकृत मिडिया विकास कोष स्थापनाका लागि पहल अघि बढाइएको पनि बताए । 

सामाजिक न्याय, सुशासन र समृद्धिलाई नै सरकारको उच्च प्राथमिकतामा राखेको प्रधानमन्त्री प्रचण्डको भनाइ छ । 

प्रकाशित मिति: आइतबार, वैशाख २४, २०८०  १४:३९
Weather Update