News Griha :: न्यूजगृह
मनास्लु क्षेत्रमा पाँच दिनदेखि हराएका पदयात्रीको शव भेटियो

काठमाडौं— गोरखाको मनास्लु क्षेत्रमा पदायात्राका क्रममा हराएको पदयात्रीको शव पाँच दिनपछि भेटिएको छ ।

गत १८ वैशाखमा मनास्लु क्षेत्रमा आरोहणका क्रममा गएका धादिङ निलकण्ठ नगरपालिकाका–११ का प्रकाश दवाडीको शव आज मनास्लुको लार्केपास क्षेत्रमा भेटिएको हो ।

लार्केपास क्षेत्रमा भेटिएको उक्त शवलाई हेलिकप्टरमार्फत सामागाउँ ल्याइएको चुननुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले जानकारी दिए । मृतक दवाडी ठमेलको भारल ट्रेकिङमार्फत पदयात्रामा गएका थिए । १८ वैशाखमा उक्त क्षेत्रमा हिमपात भएको थियो ।

ट्रेकिङ एजेन्सिज एशोसिएसन अफ नेपाल (टान)का अध्यक्ष नीलहरि बाँस्तोलाले दवाडीको शवलाई सामागाउँबाट काठमाडौं ल्याउनका लागि टानले पहल गरिरहेको बताए । काठमाडौं ल्याउन लागिएको उक्त शव परीक्षण गरेपश्चात् परिवारलाई बुझाइनेछ ।
 

प्रकाशित मिति: शनिबार, वैशाख २३, २०८०  २१:१६
Weather Update