
काठमाडौं— प्रहरीले एक जना पत्रकारलाई पक्राउ गरेको छ । सरकारी कागज कीर्ते गरेको आरोपमा पत्रकार मदनबाबु भण्डारी पक्राउ परेका हुन्।
गुल्मीको ईश्मा गाउँपालिका-४ घर भइ काठमाडौं-३२ बस्ने ४० वर्षीय भण्डारीलाई शनिबार पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सिताराम रिजालले जानकारी दिए । पोखराबाट आएका भण्डारीलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक कक्षबाट पक्राउ गरेको हो । आइतबार उनलाई अदालतमा पेश गरिने प्रहरीले जनाएको छ।
'भण्डारीले लिखत सम्बन्धी कसुर गरेको भनी जाहेरी परेको थियो । सोही कसुरमा अनुसन्धान गर्न जिल्ला अदालतबाट पक्राउ अनुमति लिइ उनलाई पक्राउ गरिएको हो', एसपी रिजालले भने ।
पत्रकार भण्डारीविरुद्ध २७ वैशाख २०७० मा इलाका प्रहरी कार्यालय बुटवल, रूपन्देहीमा ठगी मुद्दा चलेको थियो । पत्रकार भण्डारी सुरक्षान्यूज डटकम नामक अनलाइनका सञ्चालक हुन् ।