News Griha :: न्यूजगृह
शहीद र बेपत्ता परिवारको निःशुल्क स्वास्थ्य बीमा

बैतडी— पाटन नगरपालिकाले जिल्लामै पहिलोपटक शहीद र बेपत्ता परिवारको निःशुल्क स्वास्थ्य बीमाको व्यवस्था गरेको छ । नगरपालिकाभित्र रहेका १५ शहीद र बेपत्ता परिवारको निःशुल्क स्वास्थ्य बीमा गरिएको नगर उपप्रमुख कमलसिंह बोहराले जानकारी दिए । 

नौ शहीद परिवार र छ बेपत्ता परिवारको नगरपालिकाले बीमा गरिदएको हो । स्वास्थ्य बीमा बोर्डसँगको समन्वयमा नगरपालिकाले बीमा गरिदिएको हो । पन्ध्र परिवारको रु तीन हजार पाँच सयका दरले स्वास्थ्य बीमाबापतको प्रिमियम शुल्क नगरपालिकाले ब्यहोर्ने उपप्रमुख बोहराले बताए । 

पाँच जनासम्म सदस्य सङ्ख्या रहेको परिवारको रु तीन हजार पाँच सयमा एक वर्षका लागि स्वास्थ्य बीमा गर्ने गरिन्छ । सोबापत बीमित परिवारले रु एक लाखसम्मको उपचार सुविधा पाउँछन् । बीमित परिवारले सूचीकृत स्वास्थ्य संस्थाबाट उपचार सेवा पाउने गर्दछन् । नगरपालिकाले यसअघि रोजगारीका लागि भारतका विभिन्न सहरमा रहेका बैतडी घर भएका नेपाली कामदारको निःशुल्क बीमा पनि गरिदिएको छ । यसअघि सो नगरपालिकाले शहीद तथा बेपत्ता भएका व्यक्तिका परिवारलाई सम्मान गरेको थियो । 

जिल्ला प्रशासन कार्यालय र बेपत्ता छानबिन आयोगबाट प्राप्त नामावलीका आधारमा सम्मान गरिएको हो । प्राप्त नामावली आएका १५ शहीद तथा बेपत्ता पारिएका परिवारका सदस्यलाई दोसल्ला प्रमाणपत्र र रु पाँच हजारसहित सम्मान गरिएको नगर प्रमुख गौरीसिंह रावलले जानकारी दिए । यस्तै, उनीहरूलाई कम्बल र झोला पनि वितरण गरिएको नगरपालिकाले जनाएको छ । नगरपालिकाले शहीद तथा बेपत्ता पारिएका व्यक्तिका परिवारलाई सम्मान कार्यक्रम चालु आर्थिक वर्षको नगर सभाबाट स्वीकृत गरेको थियो ।

प्रकाशित मिति: शनिबार, वैशाख २३, २०८०  १६:०२
Weather Update