
बागलुङ— तमानखोला गाउँपालिका–६ नर्जाखानी बागलुङका जसदेवी छन्त्यालको श्रीमान् तीन वर्ष अघि बिते । जसका कारण ३० वर्षमै एकल बनेकी जसदेवीलाई छोरा र छोरीको लालन पालन, शिक्षा–दीक्षाको जिम्मेवारी आयो ।
खेती किसानीले मात्रै परिवार पाल्न धौधौ भएपछि छन्त्याल स्थानीयको खेतबारीमा समेत काम गरेर जीविका चलाउँदै आएकी छिन् । छन्त्यालले यस पटक भने वडा कार्यालयले सञ्चालन गरेको एकल महिला स्वरोजगार कार्यक्रम मार्फत आफूलाई केही राहत भएको बताइन् ।
उक्त कार्यक्रमअन्तर्गत आफैँ उपभोक्ता समितिको अध्यक्ष भएर उनी वडाका अन्य महिलालाई समेत कार्यक्रममा सहभागी गराएर स्वरोजगार बन्न थालेकी छिन् । 'छोराछोरी पाल्न मुस्किल, खेती किसानीबाट घर खर्च चलाउन धौ–धौ, कार्यक्रम मार्फत एकल महिला मिलेर तीन स्थानमा पदमार्ग बनाइयो', छन्त्यालले भने, 'एक जना एकल महिलाको हातमा यस पटक छ हजार पर्यो दुई महिनाको घर खर्च टर्यो, प्लास्टिक टनेलसमेत अनुदानमा दिएको छ ।'
चालु आर्थिक वर्षमा कार्यक्रममा विनियोजित एक लाख बजेटबाट सय मिटर पदमार्गमा ढुङ्गा छपाइएको छ । वडाका एकल महिलाले आफैँ ढुङ्गा बोकेर नर्जाखानी, पात्ले र भित्रि वनमा पदमार्ग मर्मत गरेका हुन् ।
एकल महिलालाई सामाजिक काममा सक्रियता बढाउन खोजिएको र आगामी आर्थिक वर्षमा उक्त कार्यक्रमका लागि पाँच लाख बजेट विनियोजन गर्ने तमानखोला गाउँपालिका–६ का वडाध्यक्ष चित्रबहादुर छन्त्यालले बताए ।
वडाध्यक्ष छन्त्यालका अनुसार नर्जाखानी, पात्ले र भित्रि वन गरी तीन वटा टोलमा छुट्टाछुट्टै पदमार्ग मर्मत तथा ढुङ्गा बिछाउने कार्य गरिएको हो । 'घरमै सीमित एकल महिलालाई सामाजिक काममा सक्रिय गराउने र आयआर्जनमा जोड दिने गरी कार्यक्रममार्फत यस वर्ष १९ जनालाई रोजगारी दिइएको छ, उनीहरूले आफ्नै टोलमा पदमार्ग बनाएका छन्', छन्त्यालले भने ।
अहिले वडामा प्रधानमन्त्री स्वरोजगार कार्यक्रममार्फत सडक मर्मत, पदमार्ग निर्माण र ग्याविन जाली भर्ने काम भइरहेको छ । वडा कार्यालयले वडाको योजनाका लागि विनियोजित बजेटबाट निर्माण सामग्री खरिद गरेर प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत काम गराउँदा योजना प्रभावकारी बन्दै गएको छ ।