News Griha :: न्यूजगृह
काठमाडौंलाई सीसीटीभी चेक प्वाइन्ट बनाउने तयारी

काठमाडाैं— सीसीटीभी चेक प्वाइन्ट बनाउने तयारी अनुसार काठमाडौं महानगरका विभिन्न स्थानमा सीसीटीभी जडान गरिने भएको छ ।

काठमाडौं महानगरले दिने बजेटबाट काठमाडौंका विभिन्न स्थानमा एक सय ६० वटा सीसीटीभी जडान गर्न लागिएको प्रहरीले जनाएको छ ।

काठमाडौं महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारी र उपत्यका प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीबीच ७ वैशाखमा सीसीटीभी जडान गर्ने सम्झौता भए अनुसार महानगरपालिकाले क्लोज सर्किट टेलिभिजन (सीसीटीभी) क्यामेरा जडान गर्न ६ करोड उपलब्ध गराउने भएको छ ।

काठमाडौंलाई सीसीटीभी चेक प्वाइन्ट’ बनाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । अपराध गरेर भाग्ने आरोपी (अपराधी) जताबाट पनि सीसीटीभीको चेक प्वाइन्टमा पुग्ने गरी सीसीटीभी जडान गर्ने महानगरको योजना छ ।

काठमाडौंमा पाँच वटा चेक प्वाइन्ट बनाउने र चेक प्वाइन्टमा राति पनि खिच्ने नाइट मोड भएका क्यामरा जडान गर्ने तयारी भइरहेको उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिए ।

उनका अनुसार काठमाडौं उपत्यकाभर दुई सय ४२ वटा ‘सीसीटीभी चेक प्वाइन्ट’ राख्नुपर्ने प्रहरीको प्रक्षेपण छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २२, २०८०  २२:१५
Weather Update