News Griha :: न्यूजगृह
जथाभावी फोहोर फाल्नेलाई वीरगन्ज महानगरले तिरायो ५० हजार जरिवाना

वीरगन्ज— सफा, स्वच्छ र सुन्दर वीरगन्ज महानगर बनाउने अभियानका साथ सरसफाइलाई विशेष प्राथमिकतामा राखेर काम गरिरहेको महानगरले जथाभावी फोहोर फालेर दुर्गन्ध फैलाउनेलाई कारबाहीको क्रम जारी राखेको छ ।

वीरगन्ज महानगरपालिकाले शुक्रबार जथाभावी फोहोर फाल्ने एक जनालाई कारबाही गरी ५० हजार रुपैयाँ जरिवाना तिराएको छ ।

वीरगन्जको बाइपास सडकखण्डअन्तर्गत नगवाको वैष्णवी मन्दिर नजिकै राङ्गा, भैँसीको सडेको हड्डी फालेर दुर्गन्ध फैलाउने शिवपुजन चौरसियालाई महानगरको टोलीले नियन्त्रणमा लिएर ५० हजार जरिवाना गरेको हो ।

वीरगन्जशहरलाई सफा र स्वच्छ राख्न सरसफाइ र सौन्दर्यकरण अभियानअन्तर्गत महानगरपालिकाले जथाभावी फोहाेर फाल्नेलाई नगद एक हजारदेखि ५१ हजारसम्म जरिवाना तिराउँदै आएको महानगरका मेयर राजेशमान सिंहले जनाएका छन् ।

महानगरले यसअघि वीरगन्जकै सीता अस्पताललाई सडकमा जथाभावी माटो खसाएर फोहाेर गरेको भन्दै ५१ हजार जरिवाना गरेको थियो ।

वीरगन्ज शहरको सरसफाइ र सौन्दर्यकरण अभियान चलाएको महानगरपालिकाले चार महिनाको अवधिमा शुक्रबारसम्म तीन सय ९० जनालाई कारबाही गरी जरिवाना बापत नौ लाख ६१ हजार पाँच सय रकम असुल गरेको महानगरको फोहाेरमैला व्यवस्थापन शाखाका प्रमुख सरफुदिन मियाँले जानकारी दिए ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २२, २०८०  २२:०३
Weather Update