News Griha :: न्यूजगृह
टीकापुरको सार्वजनिक जग्गा व्यक्तिको नाममा पुर्‍याएको घटनामा ८९ जना दोषी

काठमाडौं— कैलालीको टीकापुरस्थित सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गरेको घटनामा विशेष अदालतले ८९ जनालाई दोषी ठहर गरेको छ।

बिहीबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले ८९ जनालाई दोषी ठहर गर्दै सजाय तोकेको हो।

टीकापुर नगरपालिका-१ स्थित टीकापुर नगर विकास समितिका तत्कालीन अध्यक्ष लगायत पदाधिकारी तथा पार्टीका प्रतिनिधिहरूले मिलेमतो गरी नक्कली कागजात खडा गरेको आरोप थियो। नक्कली कागजात तयार गरी प्लट घडेरी आफन्त लगायतका नाममा कम रकम बुझाएर हक हस्तान्तरण गरेको कसुर थियो।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले यसमा अनुसन्धान गरी गत वर्ष माघ २५ गते विशेष अदालतमा २४९ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो।

अदालतले यो घटनामा मुख्य भूमिकामा टीकापुर विकास समितिका अध्यक्ष नेत्रप्रसाद जोशी र संयोजक गणेश सिंह रावललाई दोषी ठहरेको छ। उनीहरूले बदनियतपूर्वक किर्ते प्रमाण राखेर आवेदन गर्ने प्रथम तहका खरिदकर्ता व्यक्तिको नाममा जग्गा दाखिला गर्न सिफारिस गरेको अदालतले ठहर गरेको छ।

जोशी र सिंह रावललाई एक वर्ष ६ महिना कैद र जनही १३ लाख ७ हजार तीन सय रूपैयाँ जरिवाना ठहर गरिएको छ। अन्य प्रतिवादीहरू उपसमितिका सदस्यहरू श्याम खत्री, बमबहादुर बम, देवेन्द्र कुँवर, पदमराज न्यौपाने, खडकबहादुर शाह, अम्बादत्त जोशी, बलबहादुर कडायत, मानबहादुर चन्द र जयबहादुर विष्टलाई पनि तीन महिना कैद र १३ लाख ७ हजार तीन सय रूपैयाँ दामासाहीले जरिवाना ठहर गरिएको छ।

ललित ताम्राकार, धिजराज रेग्मी, प्रेमसिंह विक, भरत स्वार, वेदराज जोशी ढुंगाना, दयाराम संज्याल, पूर्णबहादुर बोगटी, अमरबहादुर कडायत, मदन कुँवर र ताराप्रसाद सञ्ज्यालले सफाइ पाएका छन्। उनीहरूले कुनै नाता सम्बन्धका व्यक्ति, नातेदार वा आफन्तलाई सिफारिस समेत गरेको नपाइएको भन्दै अनुमान र शंकाको भरमा कसुर ठहर गर्न नमिल्ने अदालतले उल्लेख गरेको छ।

निमित्त योजना प्रमुख झपरबहादुर विक, नापी अधिकृत गणेबहादुर बम, खरिदार धनिराम भण्डारी, सबइन्जिनियर नेतबहादुर रावल र फिल्ड सुपरभाइजर देवीलाल घिमिरेको पनि निर्णायक भूमिका नदेखिएको भन्दै सफाइ पाएका छन्।

यस्तै अन्य ७८ जनाको हकमा तीन महिना कैद र जग्गा अनुसारको जरिवाना तोकेको छ। जग्गा पनि जफत गरी समितिकै कायम हुने ठहर गरेको छ।

अन्य ७८ जनाको नामसहितको फैसला हेर्नुहोस् पीडिएफमाः

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, पुस २६, २०८१  ०६:२०
समसामयिक
Weather Update