News Griha :: न्यूजगृह
भुटानी शरणार्थी प्रकरण : राप्रपाले गर्‍यो गृह प्रशासनको प्रशंसा

काठमाडौं— राप्रपाले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनमा प्रहरी प्रशासनले लिएको अग्रता र सक्रियता अग्रसरता प्रशंसनीय रहेको जनाएको छ ।

राप्रपा प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनमा गृह प्रशासनको अग्रसरता र सक्रियता प्रशंसनीय रहेको बताएका हुन् ।

यस प्रकरणमा जोसुकै संलग्न भए पनि कारबाही गर्नुपर्ने बताउँदै उनले ‘हाई प्रोफाइल’ संलग्नता खुल्दै गएकाले राजनीतिक हस्तक्षेप र मिलेमतोको सन्देह बढेर गएको बताएका छन् ।

‘नक्कली भुटानी शरणार्थी प्रकरणको छानबिनमा गृह प्रशासनको अग्रसरता र सक्रियता प्रशंसनीय छ । उक्त प्रकरणमा एकपछि अर्को ‘हाई प्रोफाइल’ संलग्नता खुल्दै गएपछि राजनीतिक हस्तक्षेप र मिलेमतोको सन्देह बढेर गएको छ,’ उनले भनेका छन् ।

‘सन्देहास्पद रहेका व्यक्ति सत्तापक्ष होउन् वा प्रतिपक्ष, भ्रष्टाचार जस्तो गम्भीर र जघन्य अपराधमा संलग्नलाई प्रहरी प्रशासनले बिना दबाब, पक्षपातरहित, भयमुक्त वातावरणमा छानबिन अघि बढाउनुपर्छ । निर्दोष नपरुन्, दोषीले उन्मुक्ति नपाउन् भन्ने मान्यताका आधारमा जुनसुकै तहका राजनीतिक वा प्रशासनिक व्यक्ति हुन् कसैगरी छानबिनको दायरामा ल्याइनुपर्छ,’ उनले भने ।

यस प्रकरणले देश तथा विदेशमा रहेका नेपालीले नियालिरहेको र प्रहरी प्रशासनको सक्रियता सुशासनको क्षेत्रमा केही हुँदैछ भन्ने नवीन आशा समेत पलाएको भन्दै उनले यस प्रकरणमा संलग्न भएकालाई कारबाही गर्नुपर्नेमा जोड दिए । 

‘यो प्रकरणलाई सिङ्गो देश र परदेशमा रहेका नेपाली समेतले बडो उत्सुकताका साथ हेरिरहेको छ मात्रै होइन सुशासनको क्षेत्रमा केही हुँदैछ भन्ने नवीन आशा समेत पलाएको छ । भ्रष्टाचार र असुली प्रकरणको छानबिनमा इतिहास निर्माण हुँदै गरेको यो समयले फेरि कसैलाई निराश नबनाओस् । भ्रष्टाचारमा शून्य सहनशीलता केवल सधैंको भाषणको विषय मात्र नबनोस्,’ प्रवक्ता श्रेष्ठले भनेका छन् ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २२, २०८०  १९:०४
Weather Update