News Griha :: न्यूजगृह
दुई छोरीको हत्या आरोपमा आमा पक्राउ

काठमाडौं— सल्यानमा आफ्नै दुई छोरीको हत्या गरेको आरोपमा आमा पक्राउ परेकी छन्।

बनगाड कुपिण्डे नगरपालिका–११ बस्ने २६ वर्षीया पूर्णिमा रानामगरले आफ्नै ३ वर्षीया छोरी करिष्मा र ६ महिनाकी छोरी राघवीको घाँटी थिचेर हत्या गरेको सल्यानका प्रहरी प्रमुख डीएसपी केशर न्यौपानेले जानकारी दिए।

उनले श्रीमानसँग झगडा हुँदा रिसको झोंकमा बच्चाहरूलाई मारेको बयानमा भनेकी छन्। उनका श्रीमान कामको शिलशिलामा नुवाकोटमा छन्।

बुधबार बिहान साढे १० बजेतिर उनले श्रीमानसँग फोनमा कुरा गरेकी थिइन्। त्यही क्रममा उनीहरूबीच झगडा भएको उनले बताइन्।

‘कुरा गर्दागर्दै श्रीमानसँग झगडा भयो। त्यसपछि मैले रिसको झोंकमा उनीहरूको हत्या गरेँ। उनीहरूलाई पनि मार्ने र आफू पनि मर्ने भन्दै पहिला बच्चालाई मारेँ। तर आफू मर्न भने सकिनँ,’ उनले बयानमा भनेकी छन्।

बिहान घटनाबारे स्थानीयले खबर गरेपछि प्रहरी टोली घटनास्थल पुगेको थियो। उनका श्रीमान नुवाकोटबाट आउँदै गरेको प्रहरीले जनाएको छ। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, पुस २४, २०८१  १९:१०
Weather Update