धनगढी— कालो प्लास्टिकमा दुईटा चाउचाउ, चार दाना आलु र आधा पोका नुन छ । सानो भाडामा थोरै बासी भात, त्योमाथि अर्को प्लास्टिकको पोका । छेउको प्रेसर कुकरमा सिटी लाग्दै छ । हातभरि माटो, एउटा खुट्टामा आधा चुडिएको चप्पल, अर्को खाली– घाउ भएर । ४० वर्षीय देवु गहतराज सडक छेउमा चुलो बनाएर केही पकाउँदैछिन् ।
कुच्चिएको कुकरमा खाना पाक्यो । पूरै सुन्निएको आँखाको पीडासँगै उनी कथा सुनाउन तयार भइन्, दुःख र अभावको ।
दिपायल सिलगढी नगरपालिका– ४ मा रहेको नगर विकासको जग्गामा बस्दै आएकी उनी तराईमा जग्गा पाइन्छ भन्दै लखेटिइन् रे ! अर्काले दिएको जग्गा थियो जा! भनेपछि जानु त पर्यो नै, सँगै ठप्प भयो उनको भारी बिसाउने छाहारी पनि ।
अहिले उनी गोदावरी नगरपालिका चौकीडाँडास्थित सडकमा भेटिइन् । त्यहाँ उनीलगायत अन्य थुप्रैले बासका लागि टहरा बनाएका रहेछन्, केही नयाँ र केही च्यातिएर धुजा– धुजा भएका त्रिपाललाई बाँसले अड्याएर । यस्तैमा पनि उनी हामीसँग कुरा गर्न तयार भइन् । ‘तराईमा जग्गा बाँड्दै छ भनेर ५०० को फारम भरेर त्यहाँबाट (उनले भनेको नगर विकासको जग्गा) निकालिदिए । ५००० ऋण गरेर तराई आए । यहाँबाट पनि जतासुकै जा भन्दै धपाइदिए । कहाँ जानु ?,’ उनले पीडा पोखिन् ।
उनीलगायत कैलालीको गोदावरी नगरपालिकामा–३ स्थित चौकीडाँडामा ४५० बढीले टहरा बनाएका छन् । जसमध्ये १५ घर परिवार वादी समुदायको छ । सोही सडक छेउमा बनेका टहराका विषयमा सडक तथा वन अतिक्रमण गरेर घर टहरा निर्माण गरेको भन्दै डिभिजन वन कार्यालय धनगढीले सुचना दिएको थियो । तराईमा जग्गा पाउने हल्लाको पछि लागेकी देवुलाई डोटीमै हुँदा जग्गा पाइन्छ भनेर ५ सयको फारम भराइएको थियो । त्यसपछि उनी ५ हजार ऋण निकालेर तराई झरिन् । जसमध्ये २ हजार उनले टहरा निर्माणमा खर्च गरिसकेकी थिइन् । ‘२ छोरा भारतमा छन् । तर, उनीहरूले वास्ता गर्दैनन्’ बोल्दा बोल्दै देवु भावुक बनिन् ‘अब फर्केर पहाड जान पनि पैसा छैन । हाम्रो बिचल्ली भयो ।’
डोटी स्थायी घर बताउने गोपाल कठायतले पनि चिन्दा रहेछन् देवुलाई । उजाडिएको बस्ती नजिकै भेटिएका ६० वर्षीय गोपालले पनि देवुको पीडाको कथा सुनाए ।
‘कथा उही हो, अर्काको खेतमा अर्मपर्म गरेर जीवन निर्वाह गर्थिन् । कहिले मजदुरी गर्थिन् कहिले जे छ त्यही खाएर बस्थिन् । धमाधम सबैले यता टहरा बनाएको देखेर उनीहरू पनि आएछन् ।’
‘हेर्दाहेर्दै टहराहरू बाक्लिए । सम्पत्ति अलिअलि भएका पनि सडक छेउमै जग्गा पाइन्छ भन्दै बस्ती आउन थाले । एकै परिवारका आधा सदस्य अन्तै बस्छन् आधा सदस्य जग्गा हडप्न रोडमा आउँछन्,’ उनले हुकुमवासी पनि सडक छेउको जग्गाको लोभले सुकुम्वासी भएको दाबी गरे । भन्छन् , ‘मान्छे पनि उल्का छन् आजकल त । कोही कोही छोडेर बाँकी सबैको एन्ड्रोइड फोन छ,’ गोपालले केही दुःखी भएर बसेकाहरूलाई इंगित गर्दै बस्तीतर्फ हेर्दै भने, ‘सार्वजनिक क्षेत्र भनेर हुकुमवासीले व्यापार गरे । त्यसको असर वास्तविक सुकुम्वासीले पाए ।’
उनीसँगै तराइ झरेकी ऐना देवी सुनारले पनि जग्गा पाउने आशा देखाएर बिचल्ली पारिएको बताइन् । उनले डोटीमा नगर विकासको जग्गामा महिनाको ५ सय भाडा तिरेर बसेकाले यहाँ जग्गा पाइन्छ भन्ने आशामा तराई आएको बताइन् । उनले वडा कार्यालयले पनि १३ वैशाखमाआफू सुकुम्वासी भएको कागज बनाइदिएको बताइन् । सोही कागज बोकेर तराई झरेकी उनी पनि अब पहाडमै फर्किनुपर्ने बाध्यता भएको बताइन् । ‘पहाडको सरकारले सुकुम्वासी हो भनेर सिफारिस दिन्छ तराईको सरकारले सिधै डोजर चलाइदिन्छ । पहाडमा त्यति धेरै गाडी हुँदैन, त्यहीमाथि यस्तो प्यालो (पहेँलो) गाडी । अचम्म मानेर हेर्दा हेर्दै हाम्रो घर लडाइदियो ।’
चौकीडाँडाको राजमार्ग किनारामा करिब ५० परिवार ३ वर्षदेखि सडक किनारामा बस्दै आएका थिए । वास्तविक सुकुम्वासीलाई सरकारले व्यवस्थित गर्ने भन्ने हल्ला फिजिएपछि पछिल्लो दुई महिनायता सो क्षेत्रमा करिब ५ सय थप परिवारले टहरा निर्माण गरेका थिए । उनीहरूको हक अधिकारका लागि लड्ने भन्दै सुदुरपश्चिम भूमिहीन संघर्ष समिति गठन गरेर सुकुम्वासी नेताहरूले प्रति परिवार ५ सयका दरले रकम पनि सङ्कलन गरेका थिए । तर, टहरा भत्काउँदा भने उनीहरू कोही पनि देखा परेनन् । सडक र वन क्षेत्रमा निर्माण गरिएका ती टहरा सोमबार वन कार्यालयले दुईटा जेसीबी लगाएर भत्काएपछि पहाडबाट तराई झरेकाहरू बिचल्लीमा परेका हुन् ।
नीता नाम बताउने एक महिलाले दुःख व्यक्त गर्दै भनिन्, ‘हामीहरूले घर बनाएका थिएनौँ, शरीरलाई ओत दिनको लागि मात्र टहरा बनाएका थियौँ । हामी चुनावका बेला प्रयोग भयौँ । तर, अहिले ओत लाग्ने ठाउँ छैन । तीन दिनदेखि घर परिवार भोकै बसेका छौँ ।’
खोला किनारमा गिट्टी कुटेर परिवार पाल्दै आएका रेवन भन्छन्, ‘आमालाई क्यान्सर रोग लागेको छ । बाढी आउने समय हुन लाग्यो, पछि काम गर्न मिल्दैन अहिले नै हो गर्ने । पाँचजनाको परिवार पाल्दै आमाको उपचार पनि गर्नुछ । सोमबार खोलाबाट घर फर्किदा घरमा रुवाबासी चलेको थियो । दिनभरी काम गरेर थाकेर घर आए न खाने कुरा छ न आराम गर्ने । न घर, न बार लथालिङ्ग भयो सबै । अब म के गरौँ र कहाँ जाऊँ ? भन्ने चिन्ताले सताइरहेको छ । हाम्रो बिचल्ली भएको छ ।’ उनले आफूलगायत वास्तविक सुकुम्वासीको पहिचान गरी व्यवस्थापन गरिदिन सरकारसँग आग्रह पनि गरे ।
वादी समुदाय : काम गर्न देऊ कि बस्न देऊ
भत्काइएका लगभग पाँचसयमध्ये करिब ३५ टहरा परिवार वादी समुदायको रहेको छ । उनीहरू २०४३ सालदेखि बस्दै आएका भएपनि सोही ठाउँमा अन्यत्रबाट आइ अरू थुप्रैले टहरा बनाउन थालेपछि वनले डोजर चलाएको थियो । वादी समुदायका १५ परिवार टहरा भत्काएकै ठाउँमा पुनः पाल टाँगेर बसेका छन् ।
स्थानीय मिठ्ठु वादीले अन्त जाने ठाउँ नभएपछि पुनः यसै ठाउँमा पाल टाँगेर बस्न बाध्य भएको बताइन् । उनले सरकारले नै विगतमा अर्को व्यवस्था नहुन्जेलसम्म लागि बस्न सहमति जनाएको भएपनि अहिले एक्कासी टहरा भत्काइदिँदा आफूहरू समस्यामा परेको बताइन् ।
‘सरकारले अन्त कहीँ व्यवस्थापन नगरिदिँदासम्म हामीलाई यसै क्षेत्रमा पानीको पनि व्यवस्था गरिदियो । छानोमा हाल्नको लागि टिन पनि दिएको थियो’ उनले भनिन् ‘अब सरकारले हामीलाई जुनसुकै ठाउँमा भएपनि उचित आवासको व्यवस्थापन गर्नुपर्छ । हामीलाई सरकारले जहाँ पठाउँछ त्यही जान हामी तयार छौँ । हामीलाई काम गर्न दिनुपर्यो नभए कम्तीमा बस्न चाहिँ सुखले पाउनुपर्छ ।’
उनले केही वादी परिवारको चौकीडाँडामा २/४ धुर जग्गा भएपनि अधिकाशं वादी समुदाय जग्गाविहीन भएको बताइन् । उनले धेरै भूमिहीन वादी समुदायका मानिस भारतमा मजदुरी गर्ने गरेको बताइन् ।
स्थानीय भरतबहादुर वादीले आफूहरू चौकीडाँडा क्षेत्रमा २०४३ सालदेखि नै बस्दै आएको बताए । उनले पहिले वादी समुदायको नाममा २/४ धुर जग्गा भएपनि पछि परिवारको सङ्ख्या बढेपछि आवासको समस्या हुँदा सडकमा आएको बताए ।
‘वादी समुदायमा पहिले मागेर खाने चलन भएकाले कोही भारत, कोही पहाडमा गए,’ उनले भने, ‘अहिले समय फेरिएको छ । सबैमा काम गरेर खाने सोचको विकास भएको छ । तर, यही बसेर काम गरेर खाऊँ भन्नको लागि बस्नकै समस्या छ ।’ अहिले भूमिहीन बनेका वादी परिवारलाई सरकारले कहीँ न कहीँ आवासको व्यवस्था गरिदिए सहज हुने उनले बताए । उनले हाल बस्ने ठाउँ पनि कतै नभएको र पाल पनि हटाउने धम्की आउन थालेपछि आफूहरू त्रसित भएको बताए ।
स्थानीय निशा वादीले सडक किनारमा भएको टहरा पनि भत्काएपछि आवासका लागि निकै समस्या भएको बताइन् । उनले आफू संस्थाको सहयोगमा काठमाडौंमा पढ्दै आएको भएपनि आमा बिरामी हुँदा पढाइ छोडेर घरमा बस्नु परेको बताइन् । उनले वादी समुदायलाई अरू सुविधा नदिएपनि बस्न दिनुपर्ने बताइन् ।
सोमबार वन कार्यालयले सो क्षेत्रमा सुकुम्वासीका नाममा वन अतिक्रमण भएको भन्दै प्रहरी र स्थानीयको सहयोगमा टहरा भत्काएको थियो । डिभिजन वन कार्यालय कैलालीका निमित्त प्रमुख भीम प्रसाद ढकालले स्थानीयको सहयोगमा नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन गरेर अतिक्रमण हटाउने काम गरिएको बताए । टहरा भत्काउन खोज्दा अवरोध गर्ने ३ जनालाई नियन्त्रणमा पनि लिइएको थियो ।