
काठमाडौं— तराईका विभिन्न जिल्लाबाट आएर आन्दोलनमा उत्रिएका मिटरब्याजीपीडितहरूले धर्ना कार्यक्रम जारी राखेका छन् ।
काठमाडौंको शान्तिबाटिकामा उनीहरूले धर्ना जारी राखेका हुन् । तराईका नवलपरासी, महोत्तरी, सर्लाहीलगायत विभिन्न जिल्लाबाट दोस्रो चरणमा समूहमा आएका उनीहरूले धर्नालाई निरन्तरता दिएका छन् ।
उनीहरूले आफ्ना माग पूरा नहुन्जेल आन्दोलन जारी राख्ने चेतावनीसमेत दिएका छन् । सञ्चारकर्मीहरूसँग कुरा गर्दै एक मिटरब्याजी पीडितले राजनीतिक रूपमा दृष्टिबन्धक, तमसुक, छिनुवा र चेक बाउन्स अवैध घोषणा हुनुपर्ने बताए । उनले यी सबैकुराको क्षतिपूर्ति ब्यहोर्नुपर्ने बताए ।
अहिले सबैभन्दा ठूलो समस्या मुद्दा परेकाले मुद्दा स्थगित हुनुपर्ने र मुद्दा छिनोफानो भइसकेको भए पुनरावेदन हुनुपर्ने, पक्राउ पुर्जी रोक्नुपर्ने माग आफूहरूको रहेको बताए ।
उनीहरूले जेलमा भएका पीडितहरूलाई ससम्मान रिहा गर्नुपर्ने बताएका छन् ।