News Griha :: न्यूजगृह
उभौली पर्व मनाइँदै

काठमाडाैं— प्रकृतिको पुजारी किराँत समुदायले वैशाख पूर्णिमाका दिनमा पर्ने उभौली पर्व धुमधामका साथ मनाउँदै छन् । अन्नबाली सप्रियोस्, खेतबारीमा राम्रो बालीनाली लागोस्, पृथ्वीमा कहीँकतै खाद्यान्नको कमी नहोस् भन्दै किराँत समुदायले उभौली पर्व मनाउने गर्दछन् ।

किराँत समुदायले मुख्यतः दुई पर्व उभौली र उधौली मनाउँछन् । वैशाख पूर्णिमामा उभौली र मङ्सिर पूर्णिमामा उधौली मनाइन्छ । उभौलीलाई बालीनाली लगाउने र उधौलीलाई थन्क्याउने अवसरका रूपमा उनीहरूले मान्दै आएका छन् ।

वैशाख शुक्ल पूर्णिमादेखि सुरु भएको यो पर्व लगातार एक महिनासम्म मनाइन्छ । यस दिन चण्डी नाचिन्छ जसकारण यसलाई बोलिचालीको भाषामा चण्डी पूर्णिमा पनि भनिन्छ ।

आजको दिनमा सुम्निमा अर्थात् देवी पार्वतीको सृष्टि भएको दिनको रूपमा किराँतहरूले यस दिनलाई सम्झने गरेका छन् ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २२, २०८०  ०६:५७
Weather Update