News Griha :: न्यूजगृह
कंडेलको देहत्याग घटना सम्बन्धमा कांग्रेसको ध्यानाकर्षण

काठमाडौं— नेपाली कांग्रेसले पार्टीका महासमिति सदस्य चितवन भरतपुर महानगरपालिका–८ निवासी शङ्करप्रसाद कंडेलको देहत्यागसम्बन्धी घटनाको यथार्थ छानबिन गरी दोषीलाई कडा कानुनी कारबाहीका लागि सरकारसँग माग गरेको छ ।

कंडेलले १९ वैशाखको साँझ देहत्याग गर्नुअघि आठ पृष्ठ लामो ‘सुसाइड नोट’ छाडेको, आरोपित दोषीलाई पक्राउ गरी कानुनी कारबाही गर्न जिल्ला प्रहरी कार्यालय चितवनमा परिवारजनले किटानी जाहेरी दर्ता गरेको पार्टीले जनाएको छ ।

तर अहिलेसम्म प्रशासनबाट दोषी पक्राउ गर्न कुनै तत्परता नदेखाएको भन्दै कांग्रेसको गम्भीर ध्यानाकृष्ट भएको नेपाली कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

राजनीतिक, सामाजिक र व्यावसायिक भूमिकामा सक्रिय कंडेलको देहत्यागप्रति गहिरो दुःख व्यक्त गर्दै कांग्रेसले उनको आत्माको चीर शान्तिको कामना र शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेको छ ।

प्रकाशित मिति: बिहीबार, वैशाख २१, २०८०  २२:१२
Weather Update