
धनगढी— सुदूरपश्चिम प्रदेश सरकारले थारुहरूको सबैभन्दा ठूलो पर्व माघीमा यस वर्ष बिदा नदिने भएको छ । प्रदेश सरकार गठन भएयता १–२ माघ प्रदेशभरी माघी पर्वको सार्वजनिक बिदा दिँदै आएकोमा यस वर्ष कटौती गरेको हो ।
एक हप्ता अघि सार्वजनिक भएको प्रदेश सरकारको २०८० सालको सार्वजनिक बिदा सम्बन्धी सूचनामा प्रदेश सरकारले पाँच वटा पर्वमा बिदा दिने निर्णय गरेको उल्लेख छ ।
२२ चैतमा बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशमा मनाइने प्रमुख पर्वहरूमा बिदा दिने निर्णय गरेको सूचनामा उल्लेख छ । सो निर्णय अनुसार प्रदेशभर सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा बिदा हुने उल्लेख छ ।
प्रदेशभर १ भदौमा ओल्के पर्व, ८ भदौमा गौरा पर्व शनिवार परेको अवसरमा (थप एक दिन बिदा), ३१ भदौमा थारुहरूको पर्व अतवारी,२६ पुसमा भुवा पर्व र १९ चैतमा खडेहरा पर्वमा बिदा दिने निर्णय गरेको उल्लेख छ ।
सो राजपत्रमा भनिएको छ, ‘खण्ड (क) मा तोकिए बमोजिमका बिदाको अतिरित्त थप एक दिनको बिदा दिनुपर्ने भएमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको मन्त्रिस्तरीय निर्णयमार्फत प्रदेश राजपत्रमा सूचना प्रकाशन गरि बिदा दिने ।’