News Griha :: न्यूजगृह
प्रधानसेनापति सिग्देल भारत जाँदै

काठमाडौं — प्रधानसेनापति अशोकराज सिग्देल भारत भ्रमणमा जाने भएका छन्। प्रधानसेनापति सिग्देल मङ्सिर २६ गते चार दिने भारत भ्रमणमा जान लागेका हुन्।

नेपाली सेनाका अनुसार प्रधानसेनापति सिग्देल मङ्सिर २६ गते भारत गएर २९ गते स्वदेश फर्किने छन्। भारतीय सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न लिनका लागि उनी त्यहाँ जान लागेका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

प्रधानसेनापतिमा नियुक्त भएपछि नेपाल र भारतबिच एक अर्काको देशमा गएर मानार्थ महारथीको दर्ज्यानी चिन्ह लिने चलन पहिलादेखि चल्दै आएको हो। यसअघि भारतका सेना प्रमुख उपेन्द्र द्विवेदी पाँच दिने नेपाल भ्रमणमा आएर मानार्थ चिन्ह लिएर फर्केका थिए।

भारतीय सेनाध्यक्ष द्विवेदी मङ्सिर ५ गते नेपाल आएर ९ गते फर्केका छन्। उनलाई नेपालका राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न प्रदान गरेका थिए।

भ्रमणको क्रममा भारतीय सेनाध्यक्ष द्विवेदी प्रधानमन्त्री केपी शर्मा ओलीदेखि विभिन्न शीर्ष व्यक्तित्वहरूसँग भेटघाट गर्नुको साथै पोखरा, मुक्तिनाथमा घुमफिर गरेका थिए।

भारत–नेपालको सम्बन्धमा तिक्तता बढिरहेको बेला प्रधानसेनापतिको यो भ्रमणलाई अर्थपूर्ण रूपमा लिइएको छ। अन्तिम समयमा बीआरआईको सहकार्य फ्रेमवर्कमा चीन र नेपालबीच सहमति भएपछि नेपालको भूराजनीति झन् पेचिलो हुँदै गइरहेको छ।

भारतको निमन्त्रणा नपाएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको भ्रमणमा गएका हुन्। प्रधानमन्त्री ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई भने नेपाल भ्रमणको निमन्त्रणा दिएका छन्। तर न प्रधानमन्त्री मोदी आफै आउने कुनै सूचना पठाए न प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निम्तो नै दिए। चीनबाट फर्केपछि प्रधानमन्त्री ओली भारत जाने कुरा पनि चलिरहेको छ।

तर भारतबाट हालसम्म त्यस्तो कुनै संकेत आइसकेको छैन। प्रधानसेनापति सिग्देल भारत भ्रमणको क्रममा दुई देशको तिक्तता मेटाउने काम गर्ने धेरैको विश्वास रहेको छ।

भ्रमणका क्रममा प्रधानसेनापति सिग्देलले भारतीय राष्ट्रपति द्रौपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षामन्त्री राजनाथ सिंहलगायतका नेतासँग भेटघाट गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ। 
 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, मंसिर १९, २०८१  १७:४३
Weather Update