
काठमाडौं— नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहलाई सहयोग गरेको देखिएपछि प्रहरीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई पक्राउको तयारी गरेको छ ।
उच्च स्रोतका अनुसार राईलाई पक्राउ गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलेसमेत ‘ग्रीन सिग्नल’ दिइसकेका छन् । प्रधानमन्त्री प्रचण्डको निर्देशनपछि प्रहरीले अहिले राईविरुद्ध पक्राउ पुर्जी कुरिरहेको छ । ‘ठगी प्रकरणमा जोडिएका जो कोहीलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन हामीलाई निर्देशन छ,’ स्रोतले भन्यो, ‘ठगीमा संलग्न देखिएको भए राईलाई पनि पक्राउ गर्नु भन्ने आदेश छ । हामी अहिले त्यसैको तयारीमा छौं ।’
अख्तियार प्रमुख राईलाई पक्राउ गर्न प्रहरीले जिल्ला अदालत काठमाडौंको अनुमति कुरिरहेको छ । ‘अदालतबाट पक्राउ पुर्जी आउना साथ राईलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइने छ’, स्रोतले भन्यो । राई नेकपा एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ गृहमन्त्री हुँदा गृहसचिव थिए ।
एमाले निकट राई तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको चाहनामा अख्तियार प्रमुख बनेका हुन् । निजामती सेवाबाट निवृत्त भए लगतै ओलीले राईलाई अख्तियार प्रमुख बनाएका हुन्।
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै गिरोहले १० लाख देखि ६० लाख रुपैयाँसम्म लिइ ठगी गरेको उजुरीपछि प्रहरीले अनुसन्धान गरिरहेको छ । यो प्रकरणमा ‘हाई प्रोफाइल’ को समेत संलग्नता देखिएपछि प्रहरीले बहालवाला सांसद तथा एमाले नेता टोपबहादुुुर रायमाझी, उनका छोरा सन्दीप, तत्कालीन गृहमन्त्री बादलका सुरक्षा सल्लाहकार डा. इन्द्रजित राई, बहालवाला सचिव टेकनारायण पाण्डेलाई पक्राउ गरिसकेको छ । यस्तै, बादल पुत्र प्रतीक थापा तथा इन्द्रजित राईका छोराविरुद्ध समेत पक्राउ पुर्जी जारी भएको छ ।
यो प्रकरणमा तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादल र उनी पछिका गृहमन्त्री नेपाली कांग्रेस नेता बालकृष्ण खाणसमेत मुछिने सम्भावना छ ।