काठमाडौं— वैदेशिक रोजगारमा पठाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
प्रहरीले मकनवानपुरको बकैया गाउँपालिका-५ घर भई हाल काठमाडौं नागार्जुन नगरपालिका-५ सितापाइला बस्ने ३९ वर्षीय सुवर्ण कुमार बल र सर्लाही ब्रम्हपुरी गाउँपालिका-३ घर भई काठमाडौंको टोखा नगरपालिका-८ बस्ने २८ वर्षीया मनिषा कुमारीलाई पक्राउ गरेको हो।
उनीहरूमध्ये सुवर्णले क्रोएसिया पठाइदिन्छु भन्दै एक जना पीडितबाट १५ लाख रूपैयाँ र मनिषाले दुबई पठाइदिन्छु भन्दै एक जना पीडितबाट २ लाख ४५ हजार रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।
प्रहरीका अनुसार सुवर्णलाई काठमाडौं बाफलबाट सोमबार र मनिषालाई काठमाडौं नयाँबसपार्कबाट मंगलबार पक्राउ गरिएको हो। उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ।