News Griha :: न्यूजगृह
करेन्ट लागेर शिक्षकको मृत्यु, २ जना घाइते

दाङ—  दाङको तुलसीपुरमा बुधबार साँझ करेन्ट लागेर एक शिक्षककाे ज्यान गएको छ । थप २ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर १२ घर भएका २८ वर्षीय महेश बिक छन् । उनी तुलसीपुर बसेर जापानी भाषा पढाउँदै आएका थिए ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डीएसपी पुष्पराज मल्लका अनुसार महेश बुधबार साँझ ६ बजेतिर तुलसीपुर उपमहागरपालिका वडा नम्बर ६ स्थित विद्युत् कार्यालय नजिकै रहेको जापानी भाषा सिकाउने आफ्नो कार्यालयको बोर्ड फेर्दै थिए । पुरानो विज्ञापन बोर्ड झिकेर नयाँ राख्ने क्रममा उनलाई करेन्ट लागेको थियो ।

करेन्ट लागेर गम्भीर घाइते महेशको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका क्रममा मृत्यु भएको डीएसपी मल्लले बताए ।

करेन्ट लागेर पुथा–१२ कक्शेरा फल्नेका १६ वर्षीय अर्जुन बिक र भूमे गाउँपालिका–४ काँडाकी १८ वर्षीया मोनिका बिक घाइते भएका छन् ।

उनीहरू दुवै जनालाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: बुधबार, वैशाख २०, २०८०  २१:४५
Weather Update