News Griha :: न्यूजगृह
सुडानमा रहेका नेपालीको उद्धार र घर फिर्तीको प्रयास जारी

काठमाडौं— नेपाल सरकारले सुडानमा हालै विकसित परिस्थितिमा त्यहाँ रहेका नेपालीको सकुशल उद्धार तथा घर फिर्तीका लागि निरन्तर प्रयास जारी राखेको जनाएको छ ।

यसै सिलसिलामा कायरोस्थित नेपाली राजदूतावासको सम्पर्कमा रहेका ३१ जना नेपालीमध्ये पोर्ट सुडान पुगेका १९ जनालाई साउदी अरेबिया सरकारको सहयोगमा पानीजहाजबाट १७ वैशाखमा जेद्दा शहर पुर्‍याइएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

जेद्दा पुगेका १९ जनामध्ये छ जना नेपाली नागरिक हिजो मंगलबार रोजगारदाता कम्पनीको प्रबन्धमा दुबईस्थित सोही कम्पनीको शाखामा रहने भएका छन् ।

नेपाल फर्कन प्रतिक्षारत १३ जना नेपाली नागरिकमध्ये आठ जना मंगलबार एअर अरबियाको उडानबाट काठमाडौं आइपुग्ने र बाँकी पाँच जना बुधबार जजिरा एअरवेजको उडानबाट नेपाल फिर्ता आउने तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।

यसैगरी नेपाली राजदूतावास, कायरोसँग सुडानमा सम्पर्कमा रहेका बाँकी ११ जनामध्ये छ जनालाई पनि पोर्ट सुडानबाट जेद्दा हुँदै उद्धार गर्ने प्रयास जारी रहेको छ ।

बाँकी तीन जना रोजगारदाता कम्पनीको प्रबन्धमा सुरक्षितरुपमा पोर्ट सुडानको होटलमा रहेका र अरु दुई जनालाई रोजगारदाता कम्पनीले इजिप्टको सिमानास्थित सुरक्षित स्थानमा राखेको मन्त्रालयले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

 

प्रकाशित मिति: बुधबार, वैशाख २०, २०८०  १८:५४
Weather Update