News Griha :: न्यूजगृह
डडेलधुरा जीप दुर्घटना : मृतकको पहिचान खुल्यो

कञ्चनपुर — डडेलधुराको परशुराम नगरपालिका–९ नौलामा भएको जीप दुर्घटनामा मृत्यु भएकाको सनाखत भएको छ। जिल्ला प्रहरी कार्यालय डडेलधुराका अनुसार मृत्यु हुनेमा दुवै जना डडेलधुराका छन्।

जिल्ला प्रहरी कार्यालयका डडेलधुराका प्रहरी निरीक्षक डम्बर विष्टका अनुसार मृत्यु हुनेमा परशुराम नगरपालिका–९ सल्लेटाकी ४० वर्षीया मोतिदेवी सार्की र आलीताल गाउँपालिका–७ की ३८ वर्षीया धनादेवी बुढा रहेका छन्। उनीहरुको घटनास्थलमै मृत्यु भएको हो।

दुर्घटनामा परी ९ जना घाइते भएको प्रहरी निरीक्षक विष्टले बताए। घाइतेको महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

कञ्चनपुरको बेदकोट नगरपालिकाको दैजीदेखि परशुराम नगरपालिकाको जोगबुडातर्फ गइरहेको लु १ ज ४५७९ नम्बरको बोलेरो जीप कञ्चनपुर र डडेलधुराको बसीमा नजिकै नौलामा मंगलबार दिउँसो दुर्घटना भएको थियो। जीप सडकबाट सय मिटर तल खसेको प्रहरीले जनाएको छ।

जीपमा १२ जना सवार रहेको प्रहरीले जनाएको छ। चालक सकुशल रहेको र उनलाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बुधबार, मंसिर ५, २०८१  ०६:०१
Weather Update