सुनसरी — सुनसरीको इटहरी–१३ स्थित खनारमा बसको ठक्करबाट एक किशोरीको मृत्यु भएपछि आक्रोशित स्थानीयले बसमा आगो लगाइदिएका छन्।
इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको मे १ ख ४५७४ नम्बरको नागरिक यातायातको बसले ठक्कर दिँदा स्थानीय सम्झना यादवको मृत्यु भएको प्रहरीले जनाएको छ। उनी इटहरी–९ स्थित जनता माध्यमिक विद्यालयकी कक्षा ९ मा अध्ययनरत विद्यार्थी हुन्।
दुर्घटना गराएर भागेको बसलाई आक्रोशित स्थानीयले ५ सय मिटर पर पुगेर आगो लगाएका छन्। आगजनीबाट जलेर बस पूर्णरूपले ध्वस्त भएको प्रहरीले जनाएको छ।
दुर्घटनालगत्तै खनार क्षेत्र केहीबेर तनावग्रस्त बनेको छ। स्थितिलाई नियन्त्रणमा लिन ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ भने कोशी राजमार्ग भएर गुड्ने सवारी साधनलाई प्रहरीले सुनसरी मोरङ सिँचाइ आयोजनाको नहर हुँदै बाइपास गरेर सञ्चालन गरेको छ।
चालकलाई भने इलाका प्रहरी कार्यालय इटहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ।