News Griha :: न्यूजगृह
दार्चुला हिम पहिरो : मृतक पुरुषको सनाखत, बेपत्ताको खोजी जारी

दार्चुला— दार्चुला ब्याँस गाँउपालिका १ बोलिनमा मङ्गलबार हिउँपहिरोमा परी बेपत्ता भएका पाँचमध्ये एक पुरुष र दुई महिलाको शव बुधबार सशस्त्र प्रहरीले फेला पारेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्म छाङरुबाट सशस्त्र प्रहरी नायब उपरीक्षक ईश्वरीदत्त भट्टको कमान्डमा गएको टोलीले तीन जनाको शव फेला पारेको हो ।

पहिरोमा बेपत्ता एक पुरुष र चार महिलामध्ये दुहु गाँउपालिका ४ पोक्से का १८ वर्षीय प्रवीण कुँवरको सनाखत भएको छ भने अन्य दुई महिलाको सनाखत हुन सकेको छैन । हराइरहेका अन्य दुई महिलाको खोजी कार्य जारी छ ।

यार्सागुम्बा सङ्कलन गर्न गएका १२ मध्ये पाँचजना हिउँपहिरोमा पुरिएर बेपत्ता भएका थिए भने अन्य सातजनाको सशस्त्र प्रहरीले मङ्गलबार साँझ नै उद्धार गरेको थियो । यार्सागुम्बा सङ्कलन गर्न गएका अन्य १३ जना समेत मङ्गलबार राति सशस्त्र प्रहरीको टोलीसँगै फर्किएका थिए ।

हिउँपहिरोमा बेपत्ता भएका महिलाहरूमा डोटी जिल्लाको जोरायल गाँउपालिका २ वुडरकी ४५ वर्षीया नक्नी डोल्मा थापा, सोही ठाँउकी २८ वर्षीय ईश्वरी थापा, १५ वर्षीया क्षिमी सोमो थापा र दार्चुला जिल्लाको दुहु गाँउपालिका ४ पोक्सेकी ३६ वर्षीया कमला कुँवर रहेका छन् ।

प्रकाशित मिति: बुधबार, वैशाख २०, २०८०  १६:०९
Weather Update