News Griha :: न्यूजगृह
कमला नदीमा बेपत्ता ३ बालकको शव भेटियो

काठमाडौं— सिरहामा कमला नदीमा नुहाउने क्रममा फरक फरक ठाउँबाट बेपत्ता भएका ३ बालकको आइतबार शव भेटिएको छ।

सिरहाको बसविट्टास्थित कमला नदीमा नुहाउने क्रममा शुक्रबार बेपत्ता भएका सिरहा नगरपालिका– १५ बुधौराका १४ वर्षीय अभिषेक यादवको शव आइतबार फेला परेको छ।

उनको शव हुलाकी सडक अन्तर्गत निर्माणाधीन कमला नदीको पुलदेखि करिब पाँच सय मिटर दक्षिणपट्टि फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिए।

बालकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल सिरहामा पठाइएको छ। उनको शव प्रहरीको गोताखोर टोलीले खोजी गरेर पत्ता लगाएको थियो।

यस्तै शुक्रबार नै सिरहाको कर्जन्हा नगरपालिका–१ उत्तरवाहिनीस्थित कमला नदीमा नुहाउने क्रममा बेपत्ता भएका सिरहाकै मिर्चैया नगरपालिका–५ का र १५ वर्षीय लक्ष्मण कुमार साहको शव पनि आइतबार फेला परेको छ।

बन्दीपुरस्थित कमला नदीमै फेला परेको उनको शव पनि पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल सिरहा पठाइएको छ। लक्ष्मणसँगै नुहाउने क्रममा बेपत्ता भएका छिमेक बिन्देश्वर मण्डलका छोरा १६ वर्षीय रोशन मण्डलको शव शुक्रबार नै नदीमा फेला परेको थियो।

कात्तिक शुक्ल पूर्णिमामा कमला नदीमा नुहाएमा भूतप्रेत र घरको कुल देवताको प्रभावबाट छुटकारा पाइन्छ भन्ने मान्यता छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, मंसिर २, २०८१  १८:२८
Weather Update