News Griha :: न्यूजगृह
व्यवसायी कँडेल मृत्यु प्रकरण : दुईजनाविरुद्ध उजुरी

चितवन— पोल्ट्री व्यवसायी शङ्कर कँडेल मृत्यु प्रकरणमा दुईजनाविरुद्ध किटानी जाहेरी परेको छ । कँडेल मङ्गलबार साँझ आफ्नै कार्यालय नारायणगढमा मृत अवस्थामा भेटिएका थिए । आत्महत्याको कारण कम्पनीको ८५ प्रतिशत शेयर खरिद गरेका व्यवसायी प्रदीप रुङ्टा र कँडेलकै कम्पनीमा कार्यरत चार्टर एकाउन्टेन्ट जीवन रावलविरुद्ध परिवारका तर्फबाट राति उजुरी परेको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर कार्कीले राति समाजिक सञ्जाल ह्वाटसबमार्फत उजुरी आएको बताए । कँडेल नेपाली कांग्रेस चितवनका महासमिति सदस्य  थिए ।

कांग्रेस चितवनका सभापति राजेश्वर खनालले परिवारका तर्फबाट किटानी जाहेरी प्रहरी प्रमुख कार्कीको ह्वाटसवमा पठाएका हुन् । कँडेलले आत्महत्या अघि लेखेको नोट अध्ययन गरेर अर्को उजुरी दिएको सभापति खनालले जानकारी दिए ।

केही महिनाअघि कँडेलले आफ्नो नेतृत्वको अनमोल फिड्स प्रालीको शेयर व्यवसायी रुङ्टालाई बेचेका थिए । 

शेयर बिक्रीपछि आन्तरिक हिसाब मिलानका क्रममा रुङ्टा र रावलले मानसिक दबाब दिएको उनको सुसाइट नोटमा उल्लेख भएको प्रहरीले जनाएको छ । उजुरीपछि दुवैजनाको खोजी भइरहेको प्रहरी उपरीक्षक कार्कीले जानकारी दिए । घटनाको थप अनुसन्धान साँझबाटनै सुरु गरिएको उनको भनाइ छ । कँडेल जिल्लाका लोकप्रिय थिए । भरतपुर महानगरपालिकाको प्रमुखको उम्मेदवारमा दाबी गर्दै आएका उनी गठबन्धन बनेसँगैपछि तत्कालीन समयमा पछि हटेका थिए । उनी भरतपुर महानगरपालिका–८ निवासी थिए ।
 

प्रकाशित मिति: बुधबार, वैशाख २०, २०८०  १५:११
Weather Update