News Griha :: न्यूजगृह
दार्चुला हिम पहिरो अपडेट : दुई महिलासहित तीनजनाको शव भेटियो
फाइल तस्बिर ।

दार्चुला— दार्चुलाको व्यास गाउँपालिका–१ मा आज हिमपहिरोमा परी सम्पर्कविहीन रहेका पाँचजनामध्ये दुई महिला र एक पुरुषको शव फेला पारेको छ ।

मङ्गलबारदेखि हिमपहिरोमा परी सम्पर्कविहीन रहेका यार्सा सङ्कलकमध्ये सातजनाको सशस्त्र प्रहरीले उद्धार गरेको थियो भने पाँचजना सम्पर्कविहीन थिए ।

दार्चुलाको छाङरुमा रहेको सशस्त्र प्रहरी बल ५० नम्बर गुल्मका गुल्मपति सशस्त्र प्रहरी नायब उपरीक्षक ईश्वरीदत्त भट्टले केहीबेर अघि बेपत्ता भएको ठाउँबाट करिब अढाइ किलोमिटर तल हिउँभन्दा बाहिर मृतावस्थामा तीन शव भेटिएको जानकारी दिए । 'शव भेटिएपछि स्थानीय, नेपाल प्रहरी र हाम्रो टोली घटनास्थल पुगिसकेको छ,' उनले भने, 'शव भेटिए पनि पहिचान भने खुलिसकेको छैन् ।' 

मङ्गलबार दिउँसोबाट सशस्त्रको टोली उद्धार तथा खोजीमा खटिएको भए पनि लगातारको हिमपात र वर्षाका कारण कठिनाइ भइरहेको थियो । 'हिजो पनि राति ९.३० बजेसम्म खोजीमा जुट्यौँ,' उनले भने, 'आज पनि बिहानबाट टोली खटिएको छ ।' उनका अनुसार सो क्षेत्रमा यार्सा सङ्कलकहरू त्रिपालमा बसिरहेका थिए ।

प्रकाशित मिति: बुधबार, वैशाख २०, २०८०  १३:१३
Weather Update