News Griha :: न्यूजगृह
भौतिक मन्त्री दाहालले गरे ग्वार्कोको फ्लाई ओभर निरीक्षण

काठमाडौं— भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले ग्वार्कोमा निर्माणाधीन फ्लाई ओभरको अवलोकन गरेका छन्। मन्त्रालयका उच्च अधिकारीहरू लिएर मन्त्री दाहाल सोमबार बिहानै निर्माण स्थलमा पुगेको उनको सचिवालयले जानकारी दिएको छ।

निरीक्षणपश्चात् मन्त्री दाहालले फ्लाई ओभर निर्माणको कामलाई गति दिन निर्देशन दिएका छन्। त्यसक्रममा उनले पूर्वाधार तथा विकास आयोजनाहरू निर्माण कार्यमा हुने ढिलासुस्ती सह्य नहुने बताए।

काठमाडौंको सहरी तथा यातायात व्यवस्थापनमा महत्त्वपूर्ण टेवा पुर्‍याउने अपेक्षा राखिएको उक्त फ्लाई ओभर निर्माणको कार्यलाई गति दिएर समयमा नै सक्न उनले निर्देशन दिए। निरीक्षण टोलीमा मन्त्री दाहालसहित मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक रामहरी पोखरेल लगायतका अधिकारीहरू सहभागी थिए।

२०७८ सालको फागुन १२ गतेदेखि ठेक्का लागि निर्माण सुरू भएको उक्त फ्लाई ओभरको थपिएको म्याद पनि यही पुस ८ गते पूरा हुँदैछ। अहिलेसम्म फ्लाई ओभरको भौतिक प्रगति ९८ प्रतिशत छ। वित्तीय प्रगति ४५.५४ प्रतिशत छ। ७ करोड ७७ लाख ३३ हजार ५१५ रुपैयाँ भुक्तानी भइसकेको मन्त्रालयले जानकारी दिएको छ।

फ्लाइ ओभर निर्माण सम्पन्न गर्न अझै दुई–तीन महिना लाग्ने मन्त्रालयका सचिव केशवकुमार शर्माले जानकारी दिए।
‘पुल निर्माण सक्न अझै दुई–तीन महिना लाग्ने नै देखिन्छ। माटो फिलिङ लगायतका काम बाँकी नै छ,’ उनले भने।

३० मिटर स्पानको ४ लेनको पुल सहितको फ्लाई ओभर निर्माणको काम आशिष–समानान्तर–रेलिगेर जेभी काठमाडौंले गरिरहेको छ। उक्त कम्पनीले १७ करोड ०६ लाख ८८ हजार ८८८ रुपैयाँमा फ्लाइ ओभरको ठेक्का लिएको हो।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: सोमबार, कात्तिक २६, २०८१  ११:३७
Weather Update