News Griha :: न्यूजगृह
मानव तस्करी आरोपित कोशीका पूर्वमन्त्री अधिकारी पक्राउ

काठमाडौं— कोशीका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारी विराटनगरबाट पक्राउ परेका छन्। मानव तस्करीको आरोप लागेका अधिकारीलाई आइतबार अदालतबाट अनुमति लिएपछि पक्राउ परेका हुन्।

गृहमन्त्रालय स्रोतका अनुसार उनलाई अहिले केहीबेरमा जहाजबाट काठमाडौं ल्याइँदैछ। मानव तस्कर गिरोहसँग मिलेमतो खुलिसक्दा पनि कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिला तथा कानुनमन्त्री एवं सांसद लीलाबल्लभ अधिकारीमाथि अससन्धान सुरू नभएको भन्दै गृह प्रशासनको आलोचना भइरहेको थियो।

नक्कली परिचयपत्र बनाई संगठित गिरोहलाई मोटो रकम बुझाएर गत साता जापान पुगेका तीन युवा अध्यागमनबाट फिर्ता गरिएलगत्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेर प्रहरी अनुसन्धानमा थिए। तर उनीहरूसँगै सेटिङमा जापान पुगेर फर्काइएका कोशी प्रदेशका तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री अधिकारी भने अझै अनुसन्धानको दायराबाहिरै थिए।

शंकास्पद कागजातका कारण जापानबाट फर्काइएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अघिल्लो शनिबार आइपुगेका चारै जनालाई अध्यागमन कार्यालयले अनुसन्धानका लागि प्रहरीको जिम्मा लगाउने तयारी गरेको थियो। अधिकारी भने ‘म मन्त्री हुँ’ भन्दै परिचयपत्र देखाएर उम्किएका थिए।

उनका साथमा रहेका रसुवाका कञ्चन देवकोटा तथा खोटाङका दावा शेर्पा र जनक राई तत्कालै समातिएका थिए। एकै प्रकृतिको कसुर देखिएको र एउटै समूहमा रहेका व्यक्तिको नेतृत्व गरेका मन्त्री अधिकारीलाई अध्यागमनले सहजै छाडिदिएकामा आलोचना भएको थियो। 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: आइतबार, कात्तिक २५, २०८१  १२:४९
Weather Update