काठमाडौं— केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले सामाजिक सञ्जालमार्फत ठगीका उजुरी बढेको भन्दै सचेत रहन अनुरोध गरेको छ।
शुक्रबार प्रवक्ता एवं एसपी होबिन्द्र बोगटीले विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जालको प्रयोग गरी बैंकको रकम समेत झिक्ने गरेको उजुरी आएको भन्दै सचेत रहन अनुरोध गरेका हुन्।
‘चिठ्ठा परेको, उपहार आएको, पार्सल आएको लगायतको प्रलोभनमा पारी बैंक तथा वित्तीय संस्थाको अनलाइन पेमेन्ट गेटवेमार्फत रकम ठगी गर्दै आइरहेकोमा हाल आएर विभिन्न बैंक तथा वित्तीय संस्थाको कर्मचारी हुँ। तपाईंको खाता रिन्यु वा अपडेट गर्नुपर्ने छ भनी व्यक्तिगत विवरण माग गर्ने गरेको छ,’ विज्ञप्तिमा भनिएको छ।
यसरी गोप्य विवरण लिएर ह्याकरले नक्कली वा चोरीको नागरिकताको दुरुपयोग गरी सीम निकालेर र बैंक खाता खोलेर रकम निकाली ठगी गर्ने गरेको सीआईबीले जनाएको छ।
यसरी ठगी भएको उजुरीहरू केहीदिनदेखि सीआईबीमा प्राप्त भएको जनाएको छ। शंकास्पद नम्बरबाट फोन आएमा आफ्नो विवरण नदिन पनि सिआईबीले अनुरोध गरेको छ।