पोखरा— सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा रहेका रास्वपा सभापति रवि लामिछानेको अभियोजन कास्की अदालतमा प्रस्तुत गर्न समय लाग्ने भएको छ।
लामिछाने र गोर्खा मिडिया नेटवर्कका अर्का सञ्चालक पूर्व डीआईजी छविलाल जोशीलाई मङ्गलबार म्याद थपका लागि कास्की अदालतमा उपस्थित गराइने भएको छ।
जोशी असोज ६ देखि हिरासतमा छन् भने लामिछानेलाई कात्तिक २ मा रास्वपाको केन्द्रीय कार्यालयबाट पक्राउ गरेर कास्की ल्याइएको थियो। लामिछानेलाई सुरुमा ६ दिन र त्यसपछि ७ दिन अदालतबाट म्याद थप गरी प्रहरीले अनुसन्धान गरिरहेको छ।
कात्तिक १४ मा म्याद सकिए पनि तिहार बिदा भएकाले मङ्गलबार उनलाई अदालतमा उपस्थित गराउन लागिएको हो। पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछाने र जोशीसँगै उस्तै कसुरमा पक्राउ परेका लीला पछाईं र रामबहादुर खनाललाई म्याद थपको अनुमतिका लागि अदालतमा उपस्थित गराइने प्रहरीले जनाएको छ।
पछाईंको खातामा सूर्यदर्शन सहकारीबाट ३ करोड रुपैयाँ अनधिकृत रूपमा गएको देखिएको थियो भने तनहुँका खनाल गीतेन्द्रबाबु राई (जीबी) समूहले सञ्चालन गरेको नेटवर्किङ व्यवसाय नेचर हर्ब्सका सञ्चालक हुन्।
अनुसन्धान नसकिएकाले मङ्गलबार अदालतसमक्ष थप म्याद माग्ने प्रहरी र सरकारी वकिल कार्यालयको तयारी छ। प्रमाणहरू जुट्दै जाँदा थप अनुसन्धान गर्नुपर्ने भएकाले चार जनाकै म्याद थपका लागि आग्रह गरिने जिल्ला सरकारी वकिल कार्यालयकी न्यायाधिवक्ता कमला काफ्ले बताइन्।
‘म्याद थप गर्न हामीसँग प्रशस्त आधार र कारणहरू छन्,’ उनले भनिन्, ‘प्रहरीको अनुसन्धान प्रतिवेदन पनि आइसकेको छैन। अभियोजन यति छिट्टै लैजान सम्भव छैन।’
पछिल्लोपल्ट कात्तिक ९ मा पक्राउ परेका नेचर हर्ब्सका सञ्चालक खनालको बयान चलिरहेको छ। लामिछानेको प्रारम्भिक बयान सकिए पनि मगाइएका कागजात र प्रमाण जुट्दै जाँदा थप बयान लिन सक्ने कानुनी बाटो खुला नै रहेको काफ्लेले बताइन्।
सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा ९० दिन हिरासतमा राखेर अनुसन्धान गर्न मिल्छ। उक्त कसुरमा असोज ६ मा जोशी पहिलोपल्ट पक्राउ परेकाले म्याद मिलान गर्दा हालसम्म झन्डै डेढ महिना भएको छ।
यसअघि प्रहरीले २५ दिन म्याद थपको माग गरेकोमा अदालतले ७ दिन थप गरेको थियो । मङ्गलबार पनि २५ दिन म्याद थपको माग गर्ने जिल्ला सरकारी वकिल कार्यालयको तयारी छ।