काठमाडौं— पश्चिम नवलपरासीमा देउसी खेल्ने टोली बोकेको गाडी दुर्घटना हुँदा १० जना घाइते भएका छन्।
शनिबार साँझ साढे ५ बजे नवलपरासीको सुस्ता गाउँपालिका–३ विगेपस्थित भित्री सडकमा गुडरियाबाट नर्सही जाँदै गरेको लु ३ च ६०३२ नम्बरको पिकअप गाडी अनियन्त्रित भएर दुर्घटना हुँदा त्यसमा सवार १० जना घाइते भएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ।
प्रहरीका अनुसार उक्त गाडीमा देउसी खेल्न हिँडेका २५ जना सवार थिए। सडकमा हिँडिरहेको बाख्रालाई जोगाउने क्रममा गाडी अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ।
घाइतेहरू सबै सुस्ता गाउँपालिका– २ गुदारियाका हुन्। १६ वर्षीया स्रृष्टी मुखिया, १९ वर्षीया मन्जु महतो, २१ वर्षीया रेखा महतो, २१ वर्षीय बैजनाथ गुप्ता, १४ वर्षीया लक्ष्मी मुखिया, १६ वर्षीया वर्षा मुखिया, १८ वर्षीया कविता मुखिया, १५ वर्षीया तिल कुमारी मुखिया, २३ वर्षीय विवेक चौधरी र १३ वर्षीय इशान्त मुखिया घाइते छन्।
गाडी चालकलाई नियन्त्रणमा लिएर घाइतेहरूलाई उपचारका लागि सहिद स्मृति सामुदायिक अस्पताल चौपत्ता पठाइएको प्रहरीले जनाएको छ।