अरिङ्गालको टोकाइबाट दिदीभाइको मृत्यु
बझाङ— अरिङ्गालको टोकाइबाट बझाङका दुई जनाको मृत्यु भएको छ। थलारा गाउँपालिका–२ डोरगाउका ३ वर्षीय सुरवीर खाती र ५ वर्षीया सिया खातीको मृत्यु भएको हो। उनीहरु दिदीभाइ हुन्।
अरिङ्गालको टोकाइबाट अन्य तीनजना घाइते भएको थलारा गाउँपालिकाका प्रवक्ता रबिन्द्र खातीले बताए।
उनका अनुसार घाइते हुनेमा मृतककी सात वर्षीया दिदी सुमी खाती, आमा डम्मरा खाती र ५८ वर्षकी हजुरआमा रहेका छन्। उनीहरूको रायल प्राथमिक स्वास्थ्य केन्द्र देउरामा उपचार भइरहेको छ।
शनिबार दिउँसो घर नजिकै घाँस काट्ने क्रममा बिच्किएका अरिङ्गालले उनीहरूलाई टोकेको र उपचारको क्रममा बालबालिकाको मृत्यु भएको प्रवक्ता खातीले बताए।
प्रकाशित मिति: आइतबार, कात्तिक १८, २०८१ ०९:१६