काठमाडौं— यमपञ्चकसमेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ।
प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । आजको दिनलाई यमद्वितीया पनि भनिन्छ।
दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ। दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिए।
भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११:३७ बजेको अभिजित् मुहूर्त उत्तम रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए।
भाइटीका गर्दा दाजुभाइ कता फर्केर टीका लगाइ माग्ने ?, दिदीबहिनीले कुन दिशामा फर्केर लगाइदिने?
यो वर्षको भाइटीकामा टीका लगाइ माग्ने दाजुभाइ पश्चिम र लगाइदिने दिदीबहिनी पूर्व फर्किनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए। ‘वृश्चिक राशिमा भएकाले टीका लगाउने व्यक्ति पश्चिम फर्किँदा चन्द्रमा दाहिने पर्छ,’ उनले भने, त्यसैले लगाइ माग्ने दाजुभाइ पश्चिम र लगाइदिने दिदीबहिनी पूर्व फर्किनुपर्छ।’
सनातन धर्ममा शुभकार्य गर्दा चन्द्रमाको दिशा हेर्ने परम्परा छ। आइतबार चन्द्रमा वृश्चिक राशिमा छ। शुभकार्य गर्दा चन्द्रमालाई अगाडि वा दाहिने पार्नुपर्छ।
चन्द्रमालाई अगाडि पार्ने क्रममा दाजुभाइ उत्तर फर्किँदा दिदीबहिनी दक्षिण फर्किएर टीका लगाउन नहुने भएकाले पूर्वपश्चिम नै निर्देश गरेको अधिकारीले बताए।
त्यसो त चन्द्रमा अगाडि पार्न दाजुभाइले उत्तर फर्किएर पनि टीका लगाउन सकिन्छ। तर यसो गर्दा दिदीबहिनी पूर्व फर्किनुपर्छ। दक्षिण भने फर्किनु हुँदैन। दक्षिण दिशा पितृकर्मका लागि मात्र उपयुक्त मानिन्छ।
त्यसो त शुभकार्यमा पूर्व वा उत्तर फर्किनुपर्ने मान्यता पनि छ।