News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
दार्चुलाको व्यासमा हिमपहिरो : उद्धारमा गएका सुरक्षाकर्मी फर्किए, ७ सम्पर्कमा, ५ जना बेपत्ता 

धनगढी— दार्चुलाको व्यास गाउँपालिका–१ छाङरुस्थित बोलिनमा हिमपात भइरहेको छ । आइतबारदेखि सुरु भएको हिमपात रोकिएको छैन ।

हिमपातका कारण बोलिनमा मंगलबार (१९ वैशाख) दिउँसो हिमपहिरो गएको थियो । जिल्ला प्रहरी कार्यालय दार्चुलाका डीएसपी तर्कराज पाण्डेयले हिमपहिरोमा परेर ५ जना बेपत्ता रहेको जानकारी दिए ।

Prabhu Bank

‘हिमपात जारी छ । घटनास्थलमा प्रहरी पनि जान सक्ने अवस्था छैन । करिब ५ फिट हिउँ जमेको छ । उद्धारमा खटिएको टोली पनि अँध्यारो भएर फर्किएका छन्,’उनले भने ।

बेपत्तामध्ये ३ जना महिला डोटीको बुडरका रहेका र एक पुरुष दार्चुलाकै दुँहु गाउँपालिकास्थि पोक्सीका भएको खुलेको उनले बताए । उनीहरूको पूर्ण परिचय भने खुल्न बाँकी छ ।

निरन्तरको हिमपातका कारण उद्धारमा कठिनाइ भएको डीएसपी पाण्डेयले जानकारी दिए । उद्धारका लागि सशस्त्र प्रहरीका डीएसपी ईश्वरी भट्ट नेतृत्वको टोली र नेपाल प्रहरीको टोली हिमपात भएको ठाउँमा गएको छ ।

यार्सागुम्बा संकलन गर्न गएका १२ जना हिमपहिरोमा परेका थिए । तीमध्ये ५ जना बेपत्ता छन् भने ७ जना सकुशल भेटिएका छन् । हिमपहिरो आउँदा भागेर जोगिएको उनीहरूले बताएका छन् ।

यार्सागुम्बा संकलन गर्न दार्चुलासहित अन्य जिल्लाबाट त्यहाँ मानिस जाने गर्छन् । उनीहरू दिउँसो हिमालको फेदमा पाल टाँगेर बस्ने र दिउँसो यार्सा टिप्न जान्छन् ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, वैशाख १९, २०८०  २१:४८
राजनीति
विशेष
Weather Update