News Griha :: न्यूजगृह
अखाद्य वस्तु मिसावट गरी मह उत्पादन गर्ने एक पक्राउ

काठमाडौं— प्रहरीले अखाद्य वस्तु मिसावट गरी मह उत्पादन गर्ने एक जनालाई पक्राउ गरेको छ ।

प्रहरी प्रभाग बूढानीलकण्ठको टोलीले काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–२ स्थित गार्डेन अपिएरी उद्योग प्रा.लि.मा अखाद्य वस्तु मिसावट गरी मह उत्पादन गर्ने ५७ वर्षीय पवन सत्याललाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले अखाद्य वस्तु मिसावट गरी अवैधरूपमा मह उत्पादन गरी बजारमा बेचबिखन गरिरहेको सूचनाका आधारमा सत्याललाई उद्योगबाटै पक्राउ गरिएको जानकारी दिए ।

प्रहरीले सत्यालसँग सात सय बट्टा तयारी मह र ४० बाल्टिन कच्चा पदार्थ बरामद गरेको छ । उक्त महको बजार मूल्य पाँच लाख रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनलाई कालोबजारी तथा केही अन्य सामाजिक अपराध ऐन, २०३२ बमोजिम प्रहरी वृत्त महाराजगञ्जबाट थप अनुसन्धान भइरहेको प्रवक्ता रिजालले बताए ।

प्रकाशित मिति: मंगलबार, वैशाख १९, २०८०  २१:२६
Weather Update